फस्ट बेञ्चर र लास्ट बेञ्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैनः मुख्यमन्त्री कार्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यतिबेला आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा छन् । केही दिनअघि मोरङको एक विद्यालयमा आयोजित कार्यक्रमका क्रममा दिएको अभिव्यक्तिबारे उनको चर्चा र आलोचना दुवै बढ्दो छ ।

मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहमा उनले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो । म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन् । ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न, पढ्नमात्रै जान्यो । ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्नमात्रै जान्यो।’

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिलाई लिएर नेपाल निजामती कर्मचारी संगठन मोरङले आपत्ति जनाएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको बताएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको भाषणलाई उन्मादपूर्ण र निच भनेर टिप्पणीसमेत गरेको थियो ।

आलोचना बढ्दै जाँदा मुख्यमन्त्री कार्की प्रष्टीकरण दिँदै हिड्ने अवस्थामा पुगेका छन् । शुक्रबार बिहान मुख्यमन्त्री कार्कीले उक्त अभिव्यक्ति कुनै कर्मचारीलाई नभएर आफ्नो साथीलाई भनेको बताएका थिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीप्रति आफूले कहिल्यै पनि विभेद नगरेको बताए । उनले चीनमा सम्पन्न भएको १९औं एशियाली खेलकुदमा सबैभन्दा छिटो अर्धसतक पूरा गरेर दुर्लभ विश्व किर्तिमानी कायम गरेका दीपेन्द्र ऐरीले कक्षा कोठाबाट रेकर्ड ब्रेक गरेको हो कि चौरीबाट ? भनेर प्रश्न गरेका थिए ।

कार्कीको उक्त प्रश्नले पनि पुन आलोचना भईरहँदा शुक्रबार दिउँसो भने उनले केही संयमित भएर आफ्नो भनाईको बचाउन गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताएका छन् ।

“फस्ट बेन्चर र लास्ट बेन्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्न पनि मिल्दैन,” उनले भने, “अल्बर्ट आइन्स्टाइन लगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् ।”

विद्यालयको एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन मिल्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए । “त्यही गरिब विद्यार्थीले विभेदकारी शिक्षाविरूद्ध विद्रोह गर्यो भने के गर्ने रु”, उनले भने, “त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्रुञ्जेल अभियान जारी राख्छु ।”

प्रतिक्रिया दिनुहोस्

Array