काठमाडौं– सत्तारुढ गठबन्धनको प्रदेशस्तरको चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट चुनावी प्रशिक्षण अभियानसुरु गर्न पोखरा गएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा भने बिहीबार नै पोखरा गइसकेका छन् ।
शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस कास्कीले जानकारी दिएको छ । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ । कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने बताइएको छ ।
यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतमा प्रशिक्षण हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । सत्ता गठबन्धनले काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण गरिसकेका छन् ।
निर्वाचन-०७९: सत्तारुढ गठबन्धनको प्रदेशस्तरको चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु

प्रतिक्रिया दिनुहोस्