काठमाडौँ – अगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा पार्टीबाट टिकट नपाएर स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका आधा दर्जन बढी नेताले चुनाव चिन्ह पाएका छन । निर्वाचन आयोगले बुधबार बागी तथा स्वतन्त्र उम्मेदवारलाइ चुनाव चिन्ह प्रदान गरेको हो ।
जसमा नेकपा एमालेबाट टिकट नपाएपछि रुपन्देही– १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्।
त्यस्तै नेकपा एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवार दिएका प्रभु साहले हातेकल चुनाव चिह्न पाएका छन्। साहले रौतहट–३ बाट उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनविरुद्व चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर समर्थन गरेको छ । उनी कांग्रेसका नेता डा। शेखर कोइराला समूहका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार छन् ।
त्यसैगरी रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका गोविन्दराज जोशीले कैची चुनाव चिह्न पाएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले तनहुँ–१ मा उम्मेदवारी दिएका छन्। जोशीले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन् ।
त्यसैगरी चितवन–३ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारी पौडेललाई उक्त चुनाव चिन्ह दिएको हो ।
जगन्नाथ पौडेलले स्थानीय तह भरतपुर महानगरपालिकाको मेयर पदमा भुइँकटहर चिन्ह पाएका थिए।


प्रतिक्रिया दिनुहोस्