राष्ट्रपतिको विरोध गरेको भन्दै ओलीले मागे गृहमन्त्री खाणको राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागेका छन्।गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा दिनुपर्ने बताए।

उनले गैरआवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए। उनले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको जिकिर गरे।

- Advertisement -
Ad image

अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए। उनले नागरिकतासम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिए।

ओलीले भने, ‘एउटा कुरामा मेरो ध्यान गम्भीरताका साथ गएको छ। हिजो गृहमन्त्रीजीले यस मञ्चको प्रयोग होइन, दुरुपयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जो अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो। सरकारको मन्त्रीले राष्ट्रपतिका सन्दर्भमा कहीँ पनि आलोचना गरिँदैन। त्यो लज्जाजनक कुरा हो, असभ्यताको कुरा हो। वास्तवमा भन्ने हो भने त्यस टिप्पणीभन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागिसक्नु पर्दथ्यो। उहाँले राजीनामा गर्नुपर्दथ्यो।’

उनले थपे, ‘जहाँसम्म नागरिकताको प्रश्न छ, यसमा धेरै राजनीति नगर्न म सुझाव दिन चाहन्छु। हरेक फोरम, हरेक मञ्चमा धेरै राजनीति गरिरहनुभएको छ। त्यस्तो राजनीति गरिरहनु पर्दैन।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्