काठमाडौँ – रुपन्देहीमा दुई प्रदेश कमिटी सदस्यसहित ३२ जनाले नेकपा एमाले परित्याग गरेका छन्। बुधबार रुपन्देही–१ मा लुम्बिनी प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय र सनोज कुमार यादवसहित ३२ जनाले एमाले परित्यागको घोषणा गरेका हुन्। यादव रोहिणी गाउँपालिका निर्वतमान गाउँपालिका अध्यक्ष समेत हुन्।
बुधबार पत्रकार सम्मेलन गर्दै केही समय अगाडि नेकपा एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाललाई समर्थन गर्ने गरि पार्टी परित्याग गरेको उनीहरूले बताएका छन्।
पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य मुलायम सिंह यादव, रोहिणी गाउपालिका सचिव इन्द्रजित कुमार राय, गाउँपालिका कमिटी सदस्य जाहिद हुसेन खान लगायत रहेका छन्।
पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोगको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिएका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले केन्द्रमा केपी ओलीले निरंकुशता लादेजस्तै रुपन्देही–१ मा छविलाल विश्वकर्माले निरंकुशता लादेका कारण पार्टी परित्याग गर्न बाध्य भएको बताए।
उपाध्यायले आफूहरुले मिहिनेतले निर्माण गरेको पार्टी संगठन अहिले व्यक्तिवाद हाबी हुँदा तहसनहस हुन पुगेको टिप्पणी गरे। घनश्यामजस्तो इमान्दार नेतालाई पाखा लगाएर तानाशाह प्रवृत्ति लादिएको उनको भनाइ छ।
यस्तै, अर्का प्रदेश कमिटी सदस्य सनोज कुमार यादवले पार्टीले स्थानीय तह निर्वाचनमा सहयोग नगरेको आरोप लगाए। यादवले विपरीत ध्रबुका पार्टीहरुसँग गठबन्धन गरेर अहिले एमालेले जनतालाई झुक्याउन खोजेको दाबी गरे।
रुपन्देही–१ मा घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले त्यागेर उनको पक्षमा खुल्नेहरूको संख्या बढिरहेको छ।




प्रतिक्रिया दिनुहोस्