काठमाडौँ – बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।
चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ ।
मृतकहरुको ९ जनाको सनाखत भएको छ । मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले पुष्टि गरेको छ । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश बिक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए ।
बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्