बडादशैँको अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान रहेको बताएका छन ।

नेपालीहरूको महान् चाड बडादशैँ २०७९ को अवसरमा शुभकामना दिँदै उनले सरकारको प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताउका छन् ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचार र सद्व्यवहारको विजयको पर्वका रूपमा मनाइने यो चाड नेपालीहरूबीच सांस्कृतिक एकता र सद्भाव प्रवद्र्धन गर्ने विशिष्ट पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ । दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली जनताबीच पारस्परिक प्रेम, स्नेह, सद्भाव, भातृत्व, एकता र सहयोगी भावनालाई निरन्तर अघि बढाउन विशिष्ट योगदान पुयाउँदै आएको उनले बताएका छन् ।

“बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध छ । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ,” प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । दसैँलगत्तै तिहार, नेपाल संवत्, छठ र ल्होसार जस्ता अरू महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक पर्वहरू पनि मनाइने क्रममा छन् ।

उनले कोभिड– १९ को सङ्क्रमण कायमै रहेको र डेङ्गुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array