बडादसैँको आज आठौँ दिन, माता दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायतका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ ।

उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लागिरहेको छ । यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने गरिन्छ ।

आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी नबरात्रमा नवदुर्गाको पूजा गर्ने प्रचलन चलिआएको छ ।

प्रतिक्रिया दिनुहोस्