मोटरसाइकल लिएर गाँउ जादै हुनुहुन्छ ? यी पार्टस् हेरेर मात्रै यात्रा गर्नुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
4 Min Read
Aa

काठमडौँ – नेपालीहरूको महान चाड दशैं तिहार नजिकिदै छ। प्राय युवा पुस्ता गाँउ जाँदा मोटरसाइकल राइड गरेर जान रुचाउँछन्।

सार्वजनिक सवारीको तुलनामा दुईपांग्रे सवारीमा लामो दूरीको यात्रा गर्ने धेरै हुन्छन्। अझ अहिले कोरोना संक्रमणको त्रासका कारण सार्वजनिक सवारीमा यात्रुको चाप छैन। कोरोनाका कारण दुईपांग्रे सवारीले सबैको ध्यान केन्द्रीत गरेको छ।

दुईपांग्रे सवारीमा यतिवेला दशैं मनाउन लामो दूरी यात्रा गर्दा धैरै विषयमा ध्यान दिनुपर्ने हुन्छ। लामो दूरीमा बाइक चलाएर जाँदा महत्वपूर्ण पार्टहरुको ख्याल नगर्दा बीचबाटो मै अलपत्र पर्ने र दुःख पाउने तथा ठूला ठूला दुर्घटन समेत हुने गरेको पाइन्छ।

त्यसैले आज तपाईंहरुलाई बाइकमा लामो दूरीको यात्रा गर्दा बाइकका के–के पार्टहरुमा ध्यान दिने र कस्तो सुरक्षा अपनाउने भन्ने विषयमा जानकारी दिदैछौं।

चेन

खासगरी दुईवटा स्पोर्केटलाई जोडेर इन्जिन घुमाउन प्रयोग हुने चेन मोटरसाइकलको अभिन्न अङ्ग हो। चेन बिना बाइक चल्दैन। राइडरले यात्रा गर्दा बाइकको चेनलाई ध्यान नदिँदा ठूलो दुर्घटना पनि हुने गरेको छ भने गुड्दा–गुड्दै चेन खस्ने समस्या पनि आउँछ।

त्यसैले वर्कसपमा गएर अथवा आँफैले पनि बाइकको चेन परीक्षण र सफा गर्नुपर्छ। खासगरी लामो दूरीमा यात्रा गर्दा चेनमा मोबिल प्रयोग गर्नुपर्छ।

ब्याट्री

ब्याट्री अन्य पार्टस जस्तै नियमित परीक्षण गर्नु नपर्ने भए पनि यसलाई कम्तीमा महिनामा एक पटक परीक्षण गर्नुपर्छ। ब्याट्रीको सहयोगले नै मोटरसाइकलको कन्सोलले काम गर्ने, इलेक्ट्रिक स्टार्ट गर्ने जस्ता काम गर्ने हुँदा ब्याट्रीलाई दुरुस्त राखुपर्ने हुन्छ।

यसका अलावा मोटरसाइकलमा कल्च,डिस्क प्याड,हेड लाइट,थ्रोटल जस्ता पार्टस आफैले बेला–बेला चेक गर्न सकिन्छ भने आवश्यक परेमा चाँडै वर्कसपमा लगेर मर्मत गर्नुपर्ने हुन्छ।

टायर

लामो यात्रामा निस्किएको समयमा टायरलाई बढी ध्यान दिनुपर्छ। बाहिरी आँखाले टायरको अवस्था सहजै अनुमान लगाउन सकिन्छ।

विशेषतः नेपालको बाटो खराब हुने भएकाले टायरको ग्रिपमा विशेष ध्यान दिनुपर्छ। यदि टायरमा राम्रो ग्रिप छैन भने त्यसलाई तत्कालै परिवर्तन गर्नुपर्छ। यस्तै हावाको मात्रा पनि समय–समयमा चेक गर्नुपर्छ।

क्लच प्लेट

खासगरी बाइक चलाउँदा राइडरहरूको गुनासो क्लच प्लेटमै हुन्छ। प्रायः क्लचको प्रयोगलाई र सुरक्षाको विषयमा ज्ञान नहुँदा क्लच प्लेट बिग्रिएर बाटोमै अलपत्र पनि परिन्छ। सवारी साधनमा प्रयोग हुने क्लच निकै महँगो मध्येको एक पार्ट हो। क्लच प्लेटको मुख्य काम इन्जिन र पांग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो।

ट्राफिक जाममा धैरै चलाउनु पर्दा क्लज प्लेट धैरै बिग्रने गर्छ। जति धेरै क्लचको प्रयोग गर्यो त्यति नै क्लचमा समस्या आउँछ। बाइक चलाउँदा पटक–पटक क्लचप्लेट गएर हैरान हुनुहुन्छ भने क्लचप्लेट परिवर्तन गरेरै जानु उचित हुन्छ।

इन्धन र मोबिल

मोटरसाइकल चल्न प्रयोग हुने इन्धन गुणस्तरीय हुनु जरुरी छ। नेपालमा इन्धनको गुणस्तर मापन गर्ने संयन्त्र नभए पनि बाइक कम्पनी अनुसारकै मोबिलहरू राखिएका हुन्छन्। कम्पनीकै सल्लाह अनुसार मोबिल प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले पेट्रोल हाल्दा निकै सजकता अपनाउनु पर्ने हुन्छ।

यदि मोबिल सुकेको वा त्यसमा हुने चिल्लो पदार्थ हराएको अवस्थामा इन्जिन नै सिज हुन सक्ने खतरा रहन्छ। त्यसैले मोबिलको प्रयोग सकेसम्म छिटो गरेकै राम्रो। अझ लामो दूरीको यात्रा गर्दा मोबिल फेरेरै जानु उचित हुन्छ।

ब्रेक

मोटरसाइकल चलाउँदा राइडरका लागि एक महत्वपूर्ण पार्ट हो ब्रेक। पछिल्लो समय नेपाल तथा विश्व बजारमा विभिन्न फिचरका ब्रोकिङ सिस्टम आइसकेको छ। तर,नेपालमा ड्रम, डिक्स ब्रोकिङ प्रणाली अपनाइने गरेको छ।

जुन ब्रेकलाई सहयोग पुर्याउन धैरै मोटरसाइकलमा सीबीए र एबीएस जस्ता फिचरहरू आउन थालेका छन्। लामो दूरीको यात्रा गर्दा आफ्नो मोटरसाइकलको ब्रेकलाई समय–समयमा परीक्षण तथा टाइट गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्