देशको न्यायालय र कार्यापालिका प्यारालाइसिस हुँदै छन: ईश्वर पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको न्यायालय र कार्यापालिका चल्नै नसक्ने प्यारालाइसिस भएको बताएका छन ।
शुक्रवार काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु प्यारालाइसिसको अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गरे ।

उनले भने, ‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो ।

यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन् । अर्कोतर्फ गठबन्धन छ । यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रश्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु । वास्तवमा हामीलाई त्यस्तै लाग्छ । जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन । कार्यक्रम छैन, गन्तव्य छैन । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो । त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ । यही बेलामा हामीले आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्ने बारेमा नेपाली जनताले फैसला गर्नेछन् । राज्यका अंगहरु कसरी प्यारालाइसिस हुँदैछन्, हामी हेर्दैछौँ, अदालतको हालत यस्तो छ । कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरुको अवस्था के छ सबै बुझेका छौँ । विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए। उनले अहिले देशको विद्रुप रुप देखापरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array