काठमाडौँ – दशैको अवसरमा लुम्बिनी विकास कोषले बिहीबारदेखि पाँच वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । दसैं अवधिभर परीक्षणको रुपमा सञ्चालन गरिने बसमा निस्शुल्क यात्राको व्यवस्था मिलाइएको छ ।
बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तिय र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेर बस सञ्चालन गरिएको हो । लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म ती बस सञ्चालन हुने छन् ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी र बुद्धसँग सम्बन्धित बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका बुद्धस्थलमा जाने यात्रुको सहजताका लागि विद्युतीय बस सञ्चालन गरिएको बताए । उनका अनुसार ती बस केही दिनका लागि परीक्षणको रुपमा सञ्चालन गरी बसको यान्त्रिक अवस्थाका बारेमा जानकारी लिएपछि स्थायी रुपमा सञ्चालन गर्नका लागि कार्यविधि तथा मापदण्ड बनाइने छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तियले विद्युतीय बस सञ्चालनमा आएपछि स्थानीय पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
लुम्बिनीको वातावरण प्रदुषण न्यूनीकरण गर्न एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई तीन वर्षअघि उपलब्ध गराएको पाँचवटा बससहित १४ वटा विद्युतीय भ्यान सञ्चालन गर्ने कार्यविधि र स्वामित्त्व कोषलाई हस्तान्तरण नगरिएकाले सञ्चालनमा आउन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्