पिङ खेल्ने परम्परा हराउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

– राममायाँ बस्नेत

काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका बोसन – १ मा लिंगेपिङ हाल्ने र खेल्ने परम्परा हराउँदै गएको छ ।  घटस्थापनदेखि हालिने लिंगेपिङ मनोरञ्जनका अन्य साधन गाउँ भित्रिन थालेपछि गाउँघरबाट लोप हुन थालेको हो । केहि वर्ष अघिसम्म प्रत्येक टोल टोलमा लिंगेपिङ हाल्ने र खेल्ने चलन थियो । टीकाको दिन मान्यजनबाट टीका जमरा लगाएपछि एक पटक पिङ खेल्नै पर्छ र धर्ती छोड्न पर्छ भन्ने मान्यता थियो ।

- Advertisement -
Ad imageAd image

दशैँ भन्ने वित्तिकै धेरैलाई गाउँघरमा हालिने लिङ्गेपिङकोे याद आउथ्यो र अझै पनि धेरैलाई आउँछ । एक समय दसैं तिहारमा ग्रामिण भेगमा लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बोसन –१ का स्थानिय ठुलाकान्छा थापा मगरका अनुसार “पहिले पिङ खेल्न गाउँका सबै जम्मा हुने, दुःख सुख बाढ्ने चलन थियो । तर पछिल्लो केहि समय यता दशैँमा पिङ देख्नै समेत मुस्किल भएको छ ।

मानिसहरु आफ्नै मोवाइल र तासमा रमाउने कारणले पिङ हाल्ने र खेल्नेहरु कम हुँदै गएका हुन।” दसैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गेपिङ खेल्ने र रमाइलो गर्ने परम्परा हराएको प्रति बूढापाका र केही यूवा पुस्ताले भने गुनासो सुनाउने गर्दछन ।

गाउँटोलमा पिङ हाल्न युवायुवतीहरू अग्रसर हुन्थे”, बोसन –१ की पवित्र मगरले भनीन, “घटस्थापनाको केही दिनअघि कोही घर-घरमा पुगेर बाबियो उठाउँथे। कोही वनजंगलमा पुगेर अग्ला बाँस र काठ काटेर ल्याउँथे। कसैले डोरी बाट्थे। सिपालुहरूले पिङ हाल्थे। ” मगरले भनीन, ‘अहिलेका पुस्तालाई पिङप्रति मोह छैन।’

पौराणिक कथा अनुसार भगवान कृष्णको पाला भन्दा अगाडि देखि पिङको विकास भएको बताइन्छ । धर्मशास्त्र अनुसार दशैँसँग पिङको विषेश महत्व जोडिएको छ तर यूवा पिडीहरु विदेशिने क्रम बढेसँगै दशैमा पिङको चलन हराउदै जान थालेको धर्मशास्त्रविद् डा. रामचन्द्र गौतमले बताएका छन।

पिङ र दशैँको धार्मिक कथन एकातिर छ भने अर्को तर्फ यसलाई नेपाली समाजको मौलिक संस्कृतिको रुपमा समेत चित्रण गरिन्छ । कतिपय ठाउँमा अत्याधुनिक प्रविधिबाट बनेका पिङ भित्रिन थालेपछि बाँस र काठद्वारा निर्मित परम्परागत लिंगे पिङ हराउन थालेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्