होटल तथा रेस्टुरेन्टले अतिरिक्त सेवा शुल्क र भ्याट लिन नपाउने फैसला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– होटल तथा रेस्टुरेन्टले अतिरिक्त सेवा शुल्क  र भ्याट छुट्टै लिदै आएकोमा अब लिन नपाउने भएका छन् । काठमाडौं जिल्ला अदालतले बिलमा मेनुमा उल्लेख भएको  मूल्य बाहेक अन्य शीर्षकमा अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो । काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको विषयमा परेको काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो ।

अदालतले मेनुमा तोकिएको मूल्यका अतिरिक्त सेवा शुल्क बापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम उपभोक्ताबाट असुल गर्न नपाइने फैसला गरेको हो । रिसोर्टलाई प्रतिवादी बनाएर पत्रकार मदन ढुंगानाले मुद्दा दायर गरेका हुन् ।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले भदौ ५ मा गरेको फैसलामा मेनुको मूल्य तय गर्दा नै भ्याट र सेवा शुल्क जोड्नु पर्नेमा उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि नियमावली, २०५३ विपरीत थप रकम उपभोक्ताबाट असुल गरिनु कानुनले तोकेको शर्त र परिधि नाघी आफूखुसी अनुचित भुक्तानी लिने कार्य भएको ठहर गरेको हो ।

मुद्धामा अदालतले मेनु मूल्य बाहेकको अतिरिक्त रकम फिर्ता गर्न, पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । सो रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी लिएको रकम तीन हजार ७८ रुपैयाँ ६३ पैसा र वादीलाई पुग्न गएको क्षति र दुखःकष्ट समेतलाई मध्यनजर राखी क्षतिपूर्तिवापत १० हजार रुपैयाँ भराउन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array