नवरात्रको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात हुनुहुन्छ ।
नवरात्रको पहिलोदिन अर्थात् आश्विन शुल्क प्रतिपदाको दिन शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान, एवं पुष्पहरू प्रिय छन् । खासगरी खिचडी र खिर चढाउनुलाई शुभ मानिन्छ ।
माता शैलपुत्री को हुनुहुन्छ ?
पर्वतराज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिनुभएको कारण माता दुर्गाको पहिलो स्वरूपलाई शैलपुत्री भनिएको हो । शैलपुत्री शब्द दुईवटा शब्दबाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री । शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुनुहुन्छ । माता आदिशक्ति हुनुहुन्छ । माता शैलापुत्री आदीमाता समेत हुनुहुन्छ । वहाँबाटनै अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएको शास्त्रमा वर्णन छ ।
माता शैलपुत्रीले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्नुहुन्छ भन्ने देवीभागवत, दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
माता शैलपुत्रीको स्वरूप :
शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी हुनुहुन्छ । माताको वाहन वृष अर्थात् साँढे हो । शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी नन्दीमाथि चढेकी हुनुहुन्छ भनेर वर्णन गरिएको छ ।
माता शैलपुत्रीको पार्दुर्भाव:
माता शैलपुत्री पहिलो जन्ममा दक्षपुत्री सतीरूपमा जन्म धारण गर्नुभएको थियो । खासकुरो के हो भने ब्रम्हाले आदीमाता सँग प्रार्थना गरेपछि माताले दक्षपुत्री सतीको रूपमा जन्म लिनु भएको थियो । देवादीदेव भगवान् शंकरसँग उहाँको विवाह भएको थियो । आफ्ना पिता दक्षको घरमा पतिको निन्दा सुन्ननसकेर उहाँले योग अग्निबाट आफ्नो शरीरलाई भस्म गरेर देह त्याग गर्नुभएको पुराणमा व्याख्या छ । देवादीदेवलाई शिवाले आफ्नो पिताको यज्ञ अनुष्ठानमा देह त्याग गरेको थाहाभएपछि, क्रुद्ध भई आफ्नो अनुचर तथा गणहरू लिएर दक्षको यज्ञलाई विध्वंस गरिदिनुभयो ।
अर्को तर्फ तारकासुर दैत्यले ब्रह्माजीको कठोर साधना गरेर ब्रह्माजीलाई प्रसन्न गरी तीनै लोकमा अधिकार तथा अमरत्व प्राप्त गरेको थियो ।
त्यो तारकासुरको अन्त्य भगवान् शिवको पुत्रबाट मात्र हुने उसले ब्रम्हाजीवाट वर प्राप्त गरेको हुनाले ऊ अमर जस्तै भएको थियो ।
सतीको मृत्युपछि भगवान् शिवजी कैलाशमा सधैँ ध्यान र योगसाधनामा मग्न भएर वैरागी हुनुभएको थियो। अत: शिवजीको पुत्र उत्पन्न हुने कुनै सम्भावानानै थिएन ।
तारकासुरले सम्पूर्ण देवताहरूलाई स्वर्गबाट निकालेर स्वयं देवराज इन्द्रको आसनमा आसीन भएर तीनै लोकमा राज गर्न थाल्यो । तत्पश्चात् सम्पूर्ण देवताले ब्रम्हाजीको स्तुति गर्नुभयो र फेरी देवता तथा ब्रह्माजी एकत्र भएर आदिशक्तिको आराधना गर्नुभयो । आद्यशक्तिलाई पुनः शरीर धारण गरेर, भगवान् शिवको अर्धाङ्गिनी बन्नको लागि प्रार्थना गर्नुभयो । जगत् जननी माताले देवताहरू तथा ब्रह्माजीको प्रार्थनाअनुसार हिमालय राजाका कन्याको रूपमा जन्म लिनुभयो, शैल या हिमालयकी पुत्री भएको कारण आद्यशक्तिलाई शैलपुत्री नाम प्राप्त भयो । शैलापुत्रीनै पछि पार्वतीको नामले प्रसिद्ध हुनुभयो ।
अतः माता पार्वतीनै शैलपुत्री हुनुहुन्छ ।
शैलपुत्री माताको प्रार्थनागर्ने मन्त्र :
शैलपुत्री माताको:
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्।
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्॥


प्रतिक्रिया दिनुहोस्