हिमवत खण्डको महान पर्व बडादशैं शुरु : आज घटस्थापना (घटस्थापनाको बारेमा जानौ)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
6 Min Read
Aa

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । घटस्थापना देखि नवरात्रि आरम्भ हुन्छ । घटस्थापनामा घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ साथै  जमरा राखिन्छ । बड़ादशैंको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक दियो,  कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घटस्थापनाको दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा सहितको पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । त्यसै स्थान नजीकै घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जौ उच्च पहाडी क्षेत्रमा उब्जनी हुने प्राचिन खाद्य बाली समेत हो । दशैँ हिमवत खण्डको सास्कृतिक पर्व भएकोले यसमा जौको खास महत्व छ

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिमा पनि औषधि मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।

हिन्दू धर्मशास्त्र अनुसार  जौलाई अन्नको राजा मानिन्छ । श्रीमद भागवत गीतामा भगवान् श्रीकृष्णले अन्नहरूमा म जौ हुँ भनेर भन्नुभएको छ।

बडादशैंमा शक्तिस्वरूपा नवदुर्गाको पुजा गरिन्छ । वैदिक सनातन हिन्दू धर्ममा ३ परम्परा  छन् । वैष्णव परम्परा, शैव परम्परा र शाक्त परम्परा । बडादशैं शाक्त परम्परा अन्तर्गतको पर्व हो । शाक्त मतमा स्त्री शक्तिलाई शृष्टिको आधार र मूल श्रोत मानिन्छ । त्यसैले बडादशैं स्त्री प्रधान पर्व हो ।

नवदुर्गा भन्नाले शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीलाई बुझिन्छ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता: ।

ब्रह्मवैवर्त पुराणका अनुसार नवदुर्गाहरू भन्नाले : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश हुन् । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको हुन्छ ।

घटस्थापनाको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ गरिन्छ ।

सकेसम्म नवरात्रको नौ दिन निराहार ब्रत बस्दा शक्ति प्राप्त हुने विश्वाश गरिन्छ । निराहार नसकेपनि जलाहार मात्र रही ब्रत गरे चिताएको पुराहुने बिश्वाश गरिन्छ ।

 

नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपनि पर्दछ । नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ । नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ । कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ ।

‍‍भगवती दुर्गाको षोडशोपचार पूजाविधि-

षोडशोपचार अथवा पंचोपचार विधिले दैनिक रूपमा पूजा गर्नुपर्छ । चण्डीपाठ गर्ने भए ब्राह्मणवरण, पुण्याहवाचन आदि गरेर पुस्तकको पूजा गरी पाठ गर्नुपर्दछ :

ध्यानमन्त्र :

आगच्छ वरदे देवि दैत्यदर्प निषूदिनी ।

पूजां गृहाण सुमुखि  नमस्ते शंकरप्रिये ।।

सर्वतीर्थमयं वारि सर्वदेव समन्वितम् ।

इमं घटं समागच्छ तिष्ठ देवगणैः सह ।।

ध्यानं समर्पयामि, सपरिवारयुतायै साङ्गायै दुर्गादेव्यै नमः ।

दुर्गाका चारैतिर रहने देवताहरूको पूजा- बीचमा सिंहासनको पूजा गरी ईशानकोणबाट क्रमश: पूजा गर्ने-

ॐ विष्णवे नमः ।

ॐ शिवाय नमः ।

ॐ विनायकाय नमः ।

ॐ सूर्याय नमः ।

दुर्गा देव्याः सर्वेभ्यो परिवारेभ्यो नमः ।

(वैदिक मन्त्र, तान्त्रिक मन्त्र, दुबै मन्त्र मिलाएर वा नाम मन्त्रले मात्र पनि देवीको पूजा गर्न सकिने भएकाले यहाँ नाममन्त्रद्वारा पूजा विधि प्रदर्शन गरिएको छ)

१. आसनं समर्पयामि,  दुर्गादेव्यै नमः । (आसनका लागि देवीलाई कुश तथा फूल चढाउने)

२. पाद्यं समर्पयामि,  दुर्गादेव्यै नमः ।

३. अर्घ्यं समर्पयामि,  दुर्गादेव्यै नमः ।

४. आचमनीयं समर्पयामि,  दुर्गादेव्यै नमः ।

५. स्नानीयं समर्पयामि,  दुर्गादेव्यै नमः ।

६. पञ्चामृतस्नानं समर्पयामि,  दुर्गादेव्यै नमः ।

७. शुद्धोदकस्नानं समर्पयामि,  दुर्गादेव्यै नमः ।

८. वस्त्रं,  यज्ञोपवीतं उपवस्त्रं च समर्पयामि,  दुर्गादेव्यै नमः ।

९. श्रीखण्डादि चन्दनं समर्पयामि,  दुर्गादेव्यै नमः ।

१०. अक्षतान् समर्पयामि,  दुर्गादेव्यै नमः ।

११. पुष्पं,  पुष्पमालां,  सौभाग्यद्रव्याणि च समर्पयामि,  दुर्गादेव्यै नमः ।

(सिन्दुर,  गाजल,  टीका,  मंगलसूत्र, रातो चादर  आदि सबै चढाउने र आवरण पूजा पनि यहीं गर्नुपर्दछ)

१२. धूपं आघ्रापयामि,  दीपं च दर्शयामि, दुर्गादेव्यै नमः ।

१३. नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, दुर्गादेव्यै नमः । आचमनीयं च समर्पयामि, दुर्गादेव्यै नमः ।

१४. ताम्बूलं समर्पयामि, दुर्गादेव्यै नमः । सुगन्धिद्रव्यं च समर्पयामि, दुर्गादेव्यै नमः ।

१५. न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, दुर्गादेव्यै नमः ।

१६. आरार्तिक्यं, पुष्पाञ्जलीं, प्रदाक्षिणां, क्षमापनं च समर्पयामि, दुर्गादेव्यै नमः ।

अनेन यथा उपलब्धवस्तुद्वारा पूजनेन दुर्गादेवी प्रियताम् नम: ।

प्रतिक्रिया दिनुहोस्

Array