माओवादी केन्द्रका १४ जना नेतहरुले दिए सामूहिक राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ  – नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लामा रहेका नेताले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामापछि भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘हामी पार्टीबाट अलग भएका छौं, सामूहिक राजीनामा दियौं,’ भण्डारीले भने,‘ स्वतन्त्र रुपमा मैले उम्मेदवारी घोषणा गरेँ ।’ पार्टीमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारको दाबेदार थिए । तर धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी छाडेका छैनन् ।

माओवादीले टिकट नपाउने भएपछि भण्डारीले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएका थिए । ‘मैले १५ दिन अघि नै पार्टी नेतृत्वलाई राजीनामा बुझाएको थिएँ, जिल्लामा साथीहरुसँग सल्लाहपछि सामूहिक राजीनामा दियौं,’ उनले भने,‘ अब स्वतन्त्र ढंगले अगाडि बढ्छौं ।’

पोलिट्व्यूरो सदस्य भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

जिल्ला नेताहरुले भण्डारीको उम्मेदवारीलाई समर्थन गरेका छन् । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array