काठमाडौँ – काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा राजीनामा दिनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् ।
तर, अन्य कर्मचारी संगठनले भने तालाबन्दीको विरोध सुरु गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले एक विज्ञप्ति नै जारी गरेर परिस्थितिको गम्भीरतालाई खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा भएको तालाबन्दीप्रति असहमति जाहेर गरेको छ ।
‘मेलम्ची आयोजनाबाट दिगो रुपमा खानेपानी आपूर्ति हुन समय लाग्ने अवस्था देखिएको, २०७० सालदेखि खानेपानीको महशुल वृद्धि नभएको र तत्काल मुल्य समायोजन हुने अवस्था नरहेको, नेपाल सरकारले आव २०७९ साल श्रावण महिनादेखि वृद्धि गरेको कर्मचारीको तलव स्केलले थप दायित्व सिर्जना भएको र सरकारबाट सञ्चालन अनुदान प्राप्त नभएको अवस्था सबैमा अवगत नै छ,’ विज्ञप्तिमा भनिएको छ,’ आगामी दिनहरुमा कम्पनीले आर्थिक संकटको कारणले खानेपानी सेवा प्रवाह सहजरुपमा गर्न नसक्ने जटिल अवस्था आउने देखिन्छ ।
भविष्यमा आउने विषम परिस्थितिको आकलन गर्दै काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको प्रशासनिक, आर्थिक, प्राविधिक र व्यवस्थापकिय क्षेत्रमा आमूल सुधारको लागि अधिकत्तम प्रयास गर्ने वा संरचनागत परिवर्तनको लागि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाटै उपत्यकाको समग्र खानेपानी तथा सरसफाई व्यवस्थापन गर्ने विकल्प रोज्ने ?’


प्रतिक्रिया दिनुहोस्