मध्यपुर थिमि वडा लिग फुटबल आजबाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौँ – मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता शनिबार आज असोज ८ बाट सुरु हुने भएको छ ।आयोजक मध्यपुर थिमि नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।

मध्यपुर युथ एशोसियसनको संयोजनमा हुने प्रतियोगितामा थिमि नगरपालिकाको प्रत्येक वडाबाट एउटा टिम सहभागी हुनेछ । जसअनुसार प्रतियोगितामा १ वटा टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेल खेलाईनेछ । प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्नेछ ।

प्रतियोगितामा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्नेछ । टोलीमा मध्यपुर थिमि बाहिरका खेलाडी समावेश हुनेछैन । जुन वडाको खेलाडीको स्थायी बसोबास जुन वडामा हो त्यही वडाबाट उसको सहभागिता रहनेछ । प्रतियोगिता उद्घाटनमा वडा नं. १ र ४ बीच दिउँसो तीन बजे प्रतिस्पर्धा हुनेछ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुनेछ ।

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली घोषणा गरिनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ ।

प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेको छ । नगरपालिकाले २० लाख रुपैया उप गराउने निर्णय गरिसकेको छ । सहभागी प्रत्येक टोलीलाई तयारी स्वरुप जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बिमा गरिएको छ ।

प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ । जसमा एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति गठन गरिएको छ । त्यस्तै लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह छन् । मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथी सत्कार समिति सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित छन् ।

प्रतिक्रिया दिनुहोस्