ग्लोबल टेण्डरबाट मल आउँदै, गहुँ बालीलाई अभाव नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – जीटुजी सम्झौताबाट तत्काल मल नआउने भएपछि ग्लोबल टेण्डरबाट मल आउने भएको छ । मलको मूल्यमा कुरा नमिल्दा तत्काल भारतबाट मल नल्याउने भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको हो ।

मल आयातको लागि सम्झौता गरेका कम्पनीहरूले ठेक्का मार्फत निरन्तर मल आयात गरिरहेको कृषि सामाग्री कम्पनीले जनाएको छ । केही दिन अघि मात्र २५ सय मेट्रिक टन मल सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ ।

२० हजार मेट्रिक टनमध्ये २५ सय मेट्रिक टन मल सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कृषि सामाग्री कम्पनीका कार्यबाहक प्रबन्ध निर्देशक राजेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन । अझै केही मल भने आउने क्रममै छ । उनका अनुसार त्यस अघि जोर्डनबाट ४० हजार मेट्रिक टन डीएपी मल आउनु पर्नेमा ३२ हजार ५ सय मल आयात भएको छ ।

त्यसै गरी ओमानबाट ३० हजार मेट्रिक टन युरिया मल आयात भएको छ भने यो साताको अन्तिममा ३० हजार मेट्रिक टन नै युरिया आइपुग्ने पनि उनी बताउँछन् । ‘अहिले ग्लोबल टेण्डर मार्फत धमाधम मल आयात भइरहेको छ’ उनले भने,‘यो साताको अन्तिममा नै ३० हजार मेट्रिक टन युरिया आइपुग्ने छ । अहिले धमाधम प्याकिङ भइरहेको छ ।’

अझ अरू मल आयातको लागि प्रक्रिया जारी नै रहेको पनि उनको भनाई छ । उनका अनुसार केही दिनमा नै थप मल आयातको लागि टेण्डर आव्हान गरिने छ । जसमा ७८ हजार युरिया, ४२ हजार ५ सय डीएपी र साढे ७ हजार पोटास हुने छ ।

टेण्डरको समय ४५ दिन रहेका कारण अहिले खोल्दा दसैँ तिहारको बिचको समयमा पर्ने हुनाले केही दिन पछि टेण्डर खोल्ने तयारी गरेको पनि उनले बताए । यस वर्ष गहुँ लगाउने समयमा मलको अभाव नहुने कम्पनीका कार्यबाहक प्रबन्ध निर्देशक कार्की बताउँछन् ।

उनी भन्छन्,‘गहुँका लागि अहिले नै हामीसँग ४० हजार मेट्रिक टन डीएपी स्टक छ । युरिया ३० हजार स्टक छ भने अर्को ३० हजार मेट्रिक टन बाटोमा छ । त्यस कारण यस वर्ष गहुँलाई मल अभाव नहोला ।’

प्रतिक्रिया दिनुहोस्

Array