सहकारीका फरार अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि महानगरले गुहार्‍यो प्रहरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बचतकर्ताको लाखौँ रकम लिएर फरार भएका आरक्ष बचत तथा ऋण सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने अझै सम्पर्कमा आएका छैनन्। गत भदौ २ गतेदेखि फरार भएका दुवैजना महानगर र अन्य सञ्चालकको सम्पर्कमा नआएका हुन्। सम्पर्कमा नआएपछि काठमाडौं प्रहरी परिसर टेकुलाई काठमाडौं महानगरले छानबिन र खोजबिन गरिदिन पत्र काटेको छ।

भदौ ९ गतेसम्म खुलेको सहकारीमा अध्यक्ष र सीईओ फरार भएको सूचना पाएपछि अन्य संचालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचना सहकारीको कार्यलयमा टाँस गरेका थिए। आरक्ष सहकारीले सितापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो।

अहिलेसम्म आरक्षका ५ सय बचतकर्ता सम्पर्कमा आएको महानगरको सहकारी विभागका प्रमुखले जानकारी दिएका छन। ‘अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि थप छानबिन गर्न प्रहरीको सहायता मागेका छौँ,’ पोखरेलले भने। अहिलेसम्म १ करोड रुपैयाँ लिएर हिँडेको पाइएको छ। तीनवटै शाखाबाट करिब ३ करोड रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुमानसमेत महानगरले गरेको छ।

आरक्ष सहकारीका सचिव असिम पन्थी र बद्री पन्थी साथै कोषाध्यक्ष श्रीराम न्यौपानेलाई प्रहरीले नियन्त्रण लिएर छानबिन गरिरहेको छ। ‘हामीले तीनवटै शाखामा बचत गरेकाहरूलाई उजुरी गर्न आह्वान गरिसकेका छौँ,’ पोखरेलले भने। फरार आचार्य र सीईओ न्यौपाने भने पतिपत्नी रहेकोसमेत अनुसन्धानमा खुल्न आएको थियो।

अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि केही बचतकर्ताहरू महानगरमै आएर धर्ना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array