के हो श्राद्ध ? किन लाग्छ पितृ दोष ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
5 Min Read
Aa

श्राद्ध हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ। कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। हेमाद्रीको श्राद्धखण्डमा उल्लेख भए अनुसार ब्राह्मणभोजन, पिण्डदान गराउनु श्राद्ध हो ।

श्रद्धया क्रियते इति श्राद्धः 

श्राद्धको मूलमा श्रद्धा रहेका छ। श्रद्धा शब्दका दुई भाग छन्– श्रत् र धा “श्रत्”को अर्थ सत्यप्रतिको विश्वास र धाको अर्थ धारणा गर्नु हो। जुन भावनाले सत्यप्रति विश्वाश गर्दछ र सत्यलाई धारणा गर्छ, त्यो श्रद्धा हो।

श्राद्धको महत्वको बिषयमा मार्कण्डेय पुराणमा भनिएको छ–

‘श्रद्धया परया दत्तं पितृणामनामगोत्रतः

यदादारास्तु ते जातास्तदाहारत्वमेतितत्।।

अर्थात् परम श्रद्धाका साथ पितृहरूको नाम, गोत्र उच्चारण गर्दै जुन अन्न प्रदान गरिन्छ; त्यो आहारका रूपमा परिणत हुन्छ।

भाद्र शुक्ल पूर्णिमाका एक तिथि र अश्विन कृष्ण प्रतिपदादेखि अमावश्या (औशी)सम्म १५ को  १६ दिनको समय अवधिलाई सोह्र श्राद्ध भनिन्छ। संस्कृतमा यसलाई “महालयपार्वण श्राद्ध” भनिन्छ। यस समयलाई पितृहरूलाई तृप्ति तुल्याउने समय भनिन्छ। दिवंगत आत्माहरूको मुक्तिका निमित्त पितृपक्ष र मृत्यु तिथिमा घरतर्फ तीन पुस्ता, मामा घरतिर चार पुस्तालाई तर्पण गर्ने प्रचलन रहेको छ। पौराणिक ग्रन्थअनुसार विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण, श्रीमद् भागवत महापुराणले पनि सोह्र श्राद्ध अनुसरण प्रसंग पाइन्छ। त्रेत्रायुगमा श्री रामचन्द्रले वनवास बस्दा सोह्र श्राद्ध गरेको रामायणमा उल्लेख गरिएको छ। महाभारत कालीन समयमा भिष्म पितामहले श्राद्ध गरेको महाभारतमा उल्लेख छ  ।

पितृकार्य अर्थात श्राद्धको अघिल्लो दिनलाई एक छाकी भन्ने गरिन्छ । सो दिनमा श्राद्ध गर्ने कर्ताले दारि, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ । हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गरिएको ठाउँ र अर्काको घर श्राद्धको लागि उपयुक्त हुदैनन् भन्ने शास्त्रीय मान्यता छ  । श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ । घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन् । श्राद्ध गर्ने ठाउँ नजिकै घन, झ्याम्फल, कुटो, कोदालो, काटी जस्ता फलामयुक्त सामानहरु राख्नु हुँदैन । यस्ता सामान यमराज अर्थात यमदण्डको प्रतिक भएकाले यिनलाई देखेमा पितृहरु डराइ भाग्छन्, प्रवेश गर्दैनन् भन्ने मान्यता छ ।

श्राद्ध गर्ने विधि –

श्राद्धको प्रमुख अङ्ग सिदादान, पिण्डदान र ब्राह्मण भोजन हुन् । पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । पितृपक्षमा मांसाहार गर्नेहरुले पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्नुपर्दछ ।

श्राद्धमा पितृलाई मात्र नभएर तर्पण दिंदा आफन्त बन्धुबान्धव देवता र किराफट्यांग्रा सम्मलाई तर्पण दिईन्छ । श्राद्धमा पृथिवीका विविध वस्तुसँग मात्र नभई स्वर्गका देवता, पातालका नागदेवता पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई ….आब्रह्मपर्यन्तं देवर्षि पितृमानवा…. अर्थात् ब्रह्मादेखि किरा फट्यांरासम्मको तृप्तिको कामना गरिएको हुन्छ ।

सामान्य अर्थमा पिण्ड भनेको सुन्तलाकारजस्तो डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राखेको पाइन्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ । जसमा दूध, दही, घ्यू,मह  र सक्खरसहित यसमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधिअनुसार कर्ताले चोरी औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, उल्लेख गरी पिण्ड वेदीको माथि थालीमा अर्पण गरिन्छ ।

शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने उल्लेख छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्र उल्लेख छ  ।

श्राद्धले पितृदोष बाट समेत मुक्ति मिल्छ भन्ने जनविश्वाश रहेको छ पितृदोष लाग्ने कारणहरू :

पितृहरूको विधिवत् संस्कार, श्राद्ध नहुनु ।

-पितृहरूको विस्मृति/अपमान ।

-धर्म विरुद्ध आचरण ।

-वृक्ष, फल लागेको बोट, पीपल, वर इत्यादि काट्नु/कटाउनु ।

-नागको हत्या गर्नु, गराउनु नागको मृत्युको कारण बन्नु ।

-गौहत्या वा गाईको अपमान गर्नु ।

-नदी, कुवा, तलाउ वा पवित्र स्थानमा मल-मूत्र विसर्जन गर्नु ।

-कुल देवता, देवी इत्यादिको विस्मृति वा अपमान ।

-पवित्र स्थलमा गलत कार्य गर्नु  ।

-पूणिर्मा, अमावस्या वा पवित्र तिथिमा सम्भोग गर्नु ।

-पूज्य महिलासँग सहवास गर्नु ।

जीवको हत्या गर्नु ।

-कुलका महिला अमर्यादित हुनु ।

-पूज्य व्यक्तिलाई अपमान गर्नु ।

प्रतिक्रिया दिनुहोस्

Array