महेन्द्रलाई झस्काएको विपी कोइरालाको भाषण: “समाजवाद एक सजीव सिद्धान्त”

नेपालले कुनै हालतमा पनि व्यक्तिगत स्वतन्त्रतालाई बलिदान गरेर समाजबाद स्विकार्गारने छैन र सरकारको गठन सधै प्रजातान्त्रिक प्रणालीद्वारा हुनुपर्दछ । त्यसैगरी, नेपालले जनताको आर्थिक हित र सामाजिक समानताको आधारमा समाजवादको स्थापना गर्नेछ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
3 Min Read
Aa

(यो लेख धेरै पहिले प्रकाशित हुने र अहिले बन्द भइसकेको कल्पना भन्ने पत्रिकाबाट साभार गरिएको हो जसलाई प्रदीप गिरिद्वारा सम्पादित “विश्वेश्वरप्रसाद कोइराला: आधारभूत सङ्कलन”मा पनि समेटिएको  छ । यस भाषणको अन्तिम लाइनले स्व. राजा महेन्द्रलाई झस्काएको थियो । भनिन्छ यही भाषणले गर्दा तत्कालिन राजा महेन्द्रको  निन्द्रा उडेको थियो । त्यहि बेलादेखि  राजा महेन्द्र, प्रधानमन्त्री विपीलाई अपदस्त गर्न सक्रिय भए ।) 

समाजवाद एक सजीव सिद्धान्त

 

सभामा उपस्थित महिला एवं सज्जनवृन्द,

अभिवादन !

नेपालले व्यक्तिगत स्वतन्त्रतालाई बलि दिएर समाजवाद स्वीकार गर्न सक्दैन । समाजवाद एउटा व्यापक एवं जीवित सिद्धान्त हो र कुनै पनि जीवित सिद्धान्तमा परिवर्तन हुन्छ । कुनैपनि राजनीतिक सिद्धान्त स्वयंमा पूर्ण छैनन् । यस्ता सिद्धान्तलाई देश, काल र परिस्थितिअनुरूप उपयोगी तुल्याउन सकिन्छ । त्यसै प्रकारले समाजवादका पनि अनेक रूपरेखाहरू हुन्छन । रुसमा मार्क्सवादको जस्तो व्याख्या गरिन्छ, त्यस्तै व्याख्या सबै ठाउमा गरिनुपर्दछ भन्नु ठीक होइन । भारतीय प्रधानमन्त्री नेहरूले समाजवादको व्याख्या आह्नै ढंगले गर्नुभएको छ । नेपाली कांग्रेसले समाजवादको सिद्धान्तको दुई भिन्न पृष्ठभूमिलाई स्वीकार गरेको छ । पहिलो, नेपालले कुनै हालतमा पनि व्यक्तिगत स्वतन्त्रतालाई बलिदान गरेर समाजबाद स्विकार्गारने छैन र सरकारको गठन सधै प्रजातान्त्रिक प्रणालीद्वारा हुनुपर्दछ । त्यसैगरी, नेपालले जनताको आर्थिक हित र सामाजिक समानताको आधारमा समाजवादको स्थापना गर्नेछ ।

औद्योगिक क्रान्ति तथा सामन्ती समाज-व्यवस्थाको प्रतिक्रियाको फलस्वरूप फ्रान्समा राज्यक्रान्ति भयो । जनताको अधिकार प्राप्तिका लागि नेपोलियन अगाडि बढे । स्वतन्त्रता, समानता र भातृत्वको नारा लगाइयो । तर पछि गैर उनी नै बादशाह बने र जनताको अधिकार खोसे । पछि, उन्नाइसौ शताब्दीमा एंगेल्स र मार्क्सले जर्मनीबाट समाजवादको नयाँ रूपरेखा प्रतिपादन गरे । यो सिद्धान्त औद्योगिक क्रान्तिका खराबीको ठूलो प्रतिक्रियास्वरूप उत्पन्न भएको थियो । लेनिन र स्टालिनको समयमा यो सिद्धान्त रूसमा कार्यान्वयन भयो । तर त्यो त्यहाँ सर्वहारा वर्गको तानाशाहीका रूपमा कार्यान्वयन भयो ।  आधुनिक समाजवादको कल्पनाबाट धेरै भिन्न भए पनि समाजवादी सिद्धान्त धेरै पुरानो सिद्धान्त हो । यस सिद्धान्तको झलक हामी प्लेटो, थोमस मूर लगायत ग्रीक दार्शनिकहरूको लेखमा समेत भेट्छौ । आधुनिक समाजवाद एउटा परिवर्तनको सिद्धान्त हो । र , यस सिद्धान्तको परीक्षा भिन्न-भिन्न देशमा आफ्नै ढङ्गले गरिदै छ ।

समाजवादी सिद्धान्तहरूको परिकल्पना हामी पूर्वीय दृष्टिकोणबाट पनि गर्न सक्छौ । वेद र उपनिषद् मा समेत समानता, भातृत्व एवं परोपकारको सिद्धान्त छ । भगवान् बुद्धले सन्तुलनको सिद्धान्तको निरुपण गर्नुभएको थियो । आधुनिक युगमा पनि आचार्य विनोवा भावे, भारतीय प्रधानमन्त्री नेहरू लगायत समाजवादलाई आधारभूत सिद्धान्त मानेर आफ्नो देशको नव निर्माणतर्फ़ अगाडि बढ्दै हुनुहुन्छ । नेपालमा पनि समाजवादको सिद्धान्तको आधारमा जनताको आर्थिक समानता एवं स्वतन्त्रताको रक्षाको लागि नेपाली काङ्ग्रेस प्रयत्नशील छ । २००७ सालको क्रान्तिद्वारा हामीले सामन्ती शासनलाई त समाप्त गरयौ, तर क्रान्तीलाई सफलपार्नका लागि हामीले अधिकतम स्वतन्त्रता प्राप्ति गर्न बाँकी नै छ र यस दिशामा हामी प्रयास गर्दछौ ।

जय नेपाल !

                                       कल्पना

७ डिसेम्बर १९५९ (२२ मङ्सिर २०१६)

प्रतिक्रिया दिनुहोस्

Array