श्रीलंकापछि विश्वभर आर्थिक संकट:१२ देश टाट पल्टिने सूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०७९, आईतवार
4 Min Read
Aa

काठमाण्डौ – श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक टाट पल्टिएर इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ भने भारतीय केन्द्रिय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) ले अन्तरदेशीय (क्रसबोडर) व्यापार भारतीय रुपैयाँ (भारु) मा गर्ने व्यवस्थाले नेपाली अर्थतन्त्र पनि तरङ्गित हुने भएको छ।यसले नेपालको वाह्य क्षेत्रलाई थप दबाबमा पार्नेदेखि रेमिटेन्स आप्रवाहमा समेत नकारात्मक प्रभाव पार्न सक्छ।

श्रीलंकामा समस्या यति जटिल छ कि आर्थिक संकटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेर श्रीलंकाका राष्ट्रपति देश छोडेर भागेका छन् ।

अहिले विश्वव्यापी आर्थिक संकट देखिएको छ । खासगरी सन् २०२० यता कोरोना भाइरसको महामारीबाट उत्पन्न लकडाउनले निम्त्याएको आपूर्ति श्रृङ्खलाको गडबडीले उसैपनि संकटापन्न रहेको विश्व अर्थतन्त्र फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि संकटको झनै निकट पुगेको हाे।

जुन देश वैदेशिक ऋण तिर्न असक्षम हुन्छन् । ती देश आफूलाई टाट पल्टिएको घोषणा गर्छन्। श्रीलंकापछि विभिन्न १२ देश यो संकटको नजिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले एक रिपोर्ट प्रकाशित गरेको छ ।

रोयटर्सका अनुसार म्यानमार, पाकिस्तान, अर्जेन्टिना, युक्रेन, ट्युनिसिया, घाना, इजिप्ट, केन्या, इथोपिया, एलसाल्भाडोर, बेलारुस, इक्वेडर र नाइजेरिया अहिले आर्थिक संकटसँग जुधिरहेका छन्।

म्यानमारको केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वैदेशिक ऋण चुक्ताको समय निलम्बन गरेर वैदेशिक मुद्रा सञ्चिति बढाउने उपाय अपनाएको छ । म्यानमारको स्थानीय मुद्रा क्याट अमेरिकी डलरको तुलनामा निकै अवमूल्यन भएपछि महंगी पनि बढेको छ ।

अहिले नै टाट पल्टिने अवस्थामा नपुगे पनि वैदेशिक मुद्रा भण्डारण नबढे म्यानमार पनि संकटमा फस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण एसियाली मुलुक पाकिस्तान पनि वैदेशिक मुद्रा भण्डारणमा निकै चाप बढेको छ । अहिले पाकिस्तानसँग पाँच हप्ताका लागि मात्र वस्तु तथा सेवा खरिद गर्न सकिने वैदेशिक मुद्रा रहेको बताइएको छ । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण लिनका लागि लगातार वार्ता गरिरहेको छ ।

उता अर्जेन्टिनाको मुद्रा पेसो पचास प्रतिशतमा कालो बजारमा खरिदविक्री भइरहेको छ। यहाँ पनि वैदेशिक मुद्रा सञ्चितिमा निकै गम्भीर असर परेको छ । अर्जेन्टिना यसअघि पनि आर्थिक रुपमा टाट पल्टिसकेको छ ।

रुससँगको युद्धमा फसेको युक्रेन पनि टाट पल्टिने अवस्थामा पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेयता उसको वैदेशिक व्यापार ठप्प मात्र भएको छैन, देशमा आर्थिक गतिविधि नै बन्द भएका छन्। युक्रेनले पनि वैदेशिक ऋण तिर्न सक्ने क्षमता गुमाउँदै गएको विज्ञहरुले चेतावनी दिएका छन्। एक सरकारी युक्रेनी कम्पनीले वैदेशिक ऋण तिर्ने भाका दुई वर्ष बढाउन माग गरेको छ।

अफ्रिकी मुलुक ट्युनिसिया टाट पल्टिने जोखिम सूचीको तेस्रो नम्बरमा रहेको छ । उसले आईएमएफसँग ऋण मागिरहेको छ । तर, घरेलु राजनीतिक अवस्थाका कारण उसलाई ऋण उपलब्ध हुन पनि समस्या छ ।

 

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई नियन्त्रणमा लिएका छन्। आक्रोशित प्रदर्शनकारीले सरकारी निवासमा नै कब्जा गरेपछि राष्ट्रपति फरार हुन बाध्य भएका हुन्। उनी अहिले मालदिभ्स हुँदै सिंगापुरमा निर्वासनमा पुगिसकेका छन्। यी सबका बीच जनता सडकमा उत्रिएका छन् । उनीहरुले दिनहुँजसो प्रर्दशन गर्दै आइरहेका छन् ।

वैदेशिक मुद्रा नभएपछि श्रीलंकाले आफूलाई टाट पल्टिएको घोषणा गरेको थियो । यसरी टाट पल्टिने श्रीलंका पहिलो मुलुक भने होइन र अन्तिम पनि होइन । यसअघि अर्जेन्टिना २००० देखि २०२० सम्मको अवधिमा दुई पटक टाट पल्टिएको छ भने २०१२ मा ग्रिस, १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडर टाट पल्टिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

Array