संघीय संसदबाट लोक सेवा विधेयक पारित, अब प्रादेशिक आयोगले पनि अधिकार प्रयोग गर्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं। संघीय संसदले लोक सेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ ।

२५ भदौ, २०७६ मा प्रतिनिधिसभामा पेश भएको यो विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको थियो ।

आइतबार प्रतिनिधिसभाले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई स्वीकार गरेको हो । प्रतिनिधिसभामा उत्पत्ति (पेश) भएको विधेयकलाई पारित गरेर पठाएको भए पनि राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधिसभाले फेरि स्वीकार गर्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाअनुसार आइतबार प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाले गरेको संशोधनलाई स्वीकार गरेको हो ।

योसँगै लोक सेवा आयोगसम्बन्धी विधेयक संघीय संसद (दुबै सदन) बाट पारित भएको छ र संसद भित्रको कानुन निर्माणको प्रक्रिया पूरा भएको छ । अब सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

लोक सेवा आयोगसम्बन्धी विधेयक संघीयतासँग समेत जोडिएको विधेयक हो । यो विधेयक लागू भएपछि प्रादेशिक लोक सेवा आयोगले संवैधानिक रुपमा प्राप्त अधिकार प्रयोग गर्न पाउनेछन् । प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने लगायतका अधिकार प्रदेश लोक सेवा आयोगले राख्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array