प्रधानसेनापति पर्शुराम शर्मा लेवनान प्रस्थान, त्यतैबाट अमेरिका जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औचारिक भ्रमणका लागि शनिबार लेवनानतर्फ प्रस्थान गर्नुभएको छ । नेपाल सरकारका रक्षा सचिवसहित सात सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सेनापति शर्मा लेवनान प्रस्थान गर्नुभएको हो ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान जानुभएको हो ।

प्रधान सेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ ।

प्रधान सेनापति शर्मालगायतको भ्रमणदलले असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरुको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ ।

भ्रमणका क्रममा प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मसिनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

यसैगरी, प्रधान सेनापति शर्माले असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

भ्रमण अवघिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने छ ।

प्रधान सेनापति शर्माको टोली भ्रमण सकेर यही असार १९ गते स्वदेश फिर्ता हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array