एमसीसी पास पछि नेपालमा अमेरिकी सेनाको सक्रियता बढे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ जेष्ठ २०७९, बिहीबार
13 Min Read
Aa
190716-A-SS368-0001

काठमाण्डौ – एमसीसी संसदबाट पारित भएसंगै अमेरिकाबाट नेपालमा एकपछी अर्को उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । नेपालबाट समेत प्रधानमन्त्री र प्रधानसेनापति तहकै भ्रमण हुने टुंगो लागिसकेको छ ।

चार तारे जर्नेल चाल्र्स ए फ्लिन

यद्यपी प्रधानमन्त्री शेरबहादुर देउवाफ्लिन भ्रमणको मिति भने दुवै पक्षले गोप्य राखेका छन् । तर, प्रधानमन्त्रीको जुलाई १३ देखी १६ सम्म अमेरिकाको राजकिय भ्रमणमा जाने टुंगो भने लागिसकेको छ । भ्रमणको तयारीमा दुवै देशका उच्च अधिकारीहरु जुटिरहेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको समेत अमेरिका भ्रमण टुंगो लागिसकेको छ । सेनापति शर्माले असार १३ देखि १७ सम्म अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिएका छन् ।

नेपाली सेना र अमेरिकी सेनाबीच विगत लामो समयदेखी नै घनिष्ट सम्बन्ध छ । अमेरिकी सेनाले नेपाली सेनालाई तालिम,शान्ति सेनाको क्षमता अभिवृद्धि र प्राविधिक सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच माउण्टेन वारफेयर,जंगल वारफेयर,प्रतिआतंकवाद, इन्टेलिजेन्स सेयरिङ र दैविक प्रकोपसंग लड्नको लागि अनुभव आदान प्रदान समेत हुंदै आएको छ ।

दुवै देशका सेनाले प्रत्येक वर्ष संयुक्त सैन्य अभ्यास समेत गर्दै आएका छन् । नेपाली सेनालाई अमेरिकाले अत्याधुनिक हतियार एम १६ उपलब्ध गर्नुको साथै यसअघि हेलिकोप्टर र जहाज समेत उपलब्ध गराएको छ । अमेरिकाले सेनालाई उच्च तहको नेशनल डिफेन्स कोर्स (एनडिसी) को कोटा समेत प्रत्येक वर्ष दुई जना उच्च अधिकारीलाई दिंदै आएको छ । त्यसका साथै विभिन्न कोर्सहरुमा नेपाली सेनाका अधिकारीहरुले सहभागिता जनाउंदै आएका छन् ।

अमेरिकी सेनाको पछिल्लो समय नेपालमा सक्रियता बढेसंगै छिमेकी मुलुक चीन र भारत भने झस्किएका छन् । कोरोना भाइरसको महामारीपछी चिनियां सेना र नेपाली सेनाबीचको सम्बन्ध विस्तारै सांघुरिंदै गएको छ । प्रधानसेनापति शर्मा भारतको औपचारिक भ्रमणमा गएपनि अहिलेसम्म उनको चीन भ्रमण हुन् सकेको छैन् । प्रधानसेनापति शर्माले भारत र अमेरिकाबाट उच्चस्तरको तालिम गरेका छन् ।

अमेरिकाले लामो समयदेखी नेपाली सेनासंग सुमधुर सम्बन्ध बनाउंदै आएको छ । अमेरिकाबाट हुने उच्चस्तरिय प्रतिनिधिमण्डल सैनिक मुख्यालय पुगेर सैनिक नेतृत्वसंग भेटवार्ता गर्दै आएको छ । देशमा युद्धको बेला समेत अमेरिकाले नेपाली सेनालाई हतियार र हेलिकोप्टरलगायतको सैन्य सहयोग गरेको थियो ।

पछिल्लो समय एमसीसी संसदबाट पारित भएसंगै अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाको नेपाल भ्रमण भएको थियो । त्यो भन्दा पहिले अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा उच्चस्तरिय प्रतिनिधिमण्डल नेपाल भ्रमणको क्रममा काठमाण्डौ आएको थियो ।

चीन घेर्ने रणनीतिको साथ एशिया केन्द्रित भएको अमेरिकाको पछिल्लो समय दक्षिण एसिया र पूर्वी एसियाका नेपाल, भारत, वंङगलादेश, श्रीलंका, थाइल्याण्ड, मलेसिया र फिलिपिन्सलगायतका मुलुकमा रणनीतिक चांसो बढ्दै गएको छ ।

अमेरिकाले नेपालमा पनि आफ्नो उपस्थिती बढाउंदै लगेको छ । विगतमा सैनिक तहमा मात्रै सम्बन्ध रहेको अमेरिकाले पछिल्लो समय राजनीतिक तहमा समेत आफ्नो सम्बन्ध विस्तार गरिरहेको छ । नेपालमा चिनियां उपस्थिती बढेको र आफ्नो भुमिका कम भएको महसुस गरेको अमेरिकाले पछिल्लो समय भने आफ्नो उपस्थिती बलियो बनाएको छ । ‘तुलनात्मक रुपमा नेपालमा अहिले भारत र चीनको भूमिका कम भएको छ । यही मौका छोपेर अमेरिकाले आफ्नो उपस्थितीलाई बलियो बनाएको छ । ’ रणनीतिक मामिलाका एक जानकारले भने ।

सधैं नेपालको आन्तरिक राजनीतिमा चांसो दिंदै आएको भारत पछिल्लो समय कम सक्रिय छ । उसले आफुलाई विशुद्ध विकास र कूटनीतिक सम्बन्ध विस्तारमा मात्र जोड दिएको छ भने कोरोना भाइरसको महामारीपछी चीन पनि सक्रिय छैन । चीनबाट विदेशमन्त्री तहको भ्रमण केही समयअघि मात्र भएको थियो । तर, त्यसयता कुनै उच्चस्तरिय भ्रमण र सहकार्य समेत अघि बढेको छैन् । बरु वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारको चीनसंगको सम्बन्ध प्राथमिकतामा नपरेको जानकारहरु बताउंछन् ।

देउवा नेतृत्वको सरकार बनेसंगै नेपालले एक चीन नीतिको प्रतिवद्धता समेत भुलेको भन्दै आलोचना भइरहेको छ । अमेरिकी उपविदेशमन्त्री जियाको नेपाल भ्रमणको बेला सुरक्षाकर्मीको स्कर्टिङमा उनि जावलाखेलस्थित तिव्वतियन क्याम्पमा पुगेपछी त्यसले तरंग ल्याएको थियो । यद्यपी देउवाले दलाई लामाको अफिस आफुले बन्द गराएको भन्दै नेपाल एक चीन नीतिलाई पालना गरिरहेको दावी गरेका थिए ।

चिनियां कम्पनीले बनाउन लागेको बुढीगण्डकी परियोजना उनिहरुबाट खोस्नु, नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाण्डौ–तराई द्रूर्तमागमा काम गरिरहेका चिनियां कम्पनी निलम्बनमा पर्नु र विमानस्थलको ठेक्का पाइसकेका चिनियां निर्माण कम्पनीहरुको काम खोसिनुले चिनियांहरुलाई झस्काएको छ ।

पछिल्लो समय नेपालमा चिनियां र अमेरिकी स्वार्थहरु बांझिन थालेको छ । दुवै मुलुकबीच नेपालमा अस्वस्थ प्रतिस्पर्धा समेत देखिन थालेको स्रोत बताउंछ । यसलाई सन्तुलन गर्न सकिएन भने नेपाल दिर्घकालिन रुपमा दुवै देशको खेल मैदान हुन सक्ने रणनीतिक मामिलाका जानकारहरुको भनाई छ ।

एमसीसी संसदबाट पारित गर्न ढिलाई हुंदा अमेरिकाले राजनीतिक नेतृत्वलाई आफुले के सम्म गर्न सक्छौं भन्दै सूची नै उपलव्ध गराएर अप्रत्यक्ष धम्की दिएको थियो । त्यसपछी अमेरिकी दूतावासमै बसेर माओवादी नेता शक्ति वस्नेत, कांग्रेस नेता गगन थापा र अहिले कानुनमन्त्री समेत रहेका गोविन्द वन्दीले अमेरिकी राजदूतको रोहबरमा मध्र्यमार्गी प्रस्ताव (एमसीसीमा व्याख्यात्मक घोषणा) तयार पार्दै एमसएसी संसदबाट पारित गरेका थिए । चीनले अमेरिकाले जर्वजस्र्ती कूटनीती गर्न खोजेको भन्दै त्यसमा समेत असन्तुष्टि जनाएको थियो ।

‘अमेरिका र चीनको लडाई नेपालमा एमसीसी प्रकरणमा देखापरिसक्यो । आगामी दिनमा हामीले सन्तुलन मिलाउन सकेनौ भने त्यसले झन् समस्या निम्तिन सक्छ । त्यसैले नेपालको राजनीतिक नेतृत्वले समयमै विचार पुर्याउनुपर्छ । नभए हामी रणभूमि बन्ने खतरा हुन्छ । ’ कूटनीतिक क्षेत्रका एक जानकारले भने ।

युक्रेन प्रकरणमा समेत सरकार अमेरिकी लाइनमा लागेको आरोप लागेको थियो । त्यतिमात्र होईन नेपाली सेनाले खरिद गर्न लागेको एमआई १७ हेलिकोप्टर रोक्न लगाएर अमेरिकाले आफ्नो प्रभाव कतिसम्म छ भन्ने देखाइसकेको छ ।

उसले सेना र सरकार दुवैले रसियाबाट दुईवटा हेलिकोप्टर खरिद गर्न खोजेपछी अप्रत्यक्ष रुपमा सैनिक नेतृत्व र राजनीतिक नेतृत्वलाई ठुलो नोक्सानी हुन सक्ने धम्की दिएपछी सरकार पछी हटेको हो । रसिया र युक्रेनबीच लडाई चलिरहेको बेला अमेरिकाले रसियामाथि नाकाबन्दी लगाएको छ । अर्थमन्त्रालयले हेलिकोप्टर खरिदको लागि बजेट समेत उपलब्ध गराइसकेको अवस्थामा अमेरिकी दबावमै खरिद प्रक्रिया रोकिएको स्रोतको दावी छ । जवकी अमेरिका स्वंयम्ले भने यसअघि अफगानस्तानमा रहेको अमेरिकी सेनाका लागि यही एम आई १७ हेलिकोप्टर खरिद गरेको थियो ।

अमेरिकी जर्नेलको भ्रमण

अमेरिकी सेनाका चार तारे जर्नेल चाल्र्स ए फ्लिन काठमाण्डौ आउंदैछन् । अमेरिका सेनाको एसिया प्यासेफिक हेर्ने जर्नेल यही जेठ २६ मा काठमाण्डौ अवतरण गर्न लागेका हुन् । उनी अमेरिकी सेनाको विशेष विमानबाट भारतको राजधानी नयां दिल्ली हुंदै चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । चाल्र्स जेठ २९ मा स्वदेश फर्कनेछन् ।

सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिका सेनाका चार तारे जर्नेलको सदभावना भ्रमण हुन् लागेको जानकारी दिए । सिलवालकाअनुसार भ्रमण द्धिपक्षीय सहयोग र आपसी हितका विषयमा केन्द्रित रहनेछ ।

अमेरिकी सेनाका जर्नेल चाल्र्सले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति प्रभुराम शर्मासंग भेटवार्ता गर्ने कार्यक्रम छ । सेनापति शर्मासंग उनले जेठ २७ मा भेटवार्ता गर्नेछन् । त्यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

जनरल चाल्र्सले नेपाली सेनाको पांचखालस्थित विरेन्द्र सैनिक तालिम केन्द्र र शिवपुरीस्थित स्टाफ कलेजको समेत भ्रमण गर्नेछन् । उनि माउण्टेन फलाइटका लागि सगरमाथको वेस क्याम्प समेत जाने कार्यक्रम छ । त्यसका साथै चाल्र्स चीनसंग सीमा जोडिएको रसुवाको धुन्चे समेत पुग्ने कार्यक्रम रहेको स्रोत बताउंछ । तर, उनको भ्रमणबारे अहिलेसम्म सेनाले औपचारिक जानकारी दिएको छैन ।

अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति तहका फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन् । उनको मुख्य जिम्मेवारी अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिलाई कार्यान्वयन गर्नु हो ।

उनि मंगलबार भारतको राजधानी नयां दिल्ली पुगेका छन् । उनले त्यहा भारतिय सेनाका प्रधानसेनापति मनोज पाण्डेसंग भेटवार्ता गरेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । त्यसका साथै जनरल बिएस लाजुसंग समेत उनले भेटवार्ता गरेका छन् । भारतिय संचारमाध्यमहरुकाअनुसार भेटमा उनले सैन्य साझेदारी बढाउने विषयमा छलफल गरेका छन् ।

उनको नेपाल भ्रमणको मुख्य उद्देश्य स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) लाई अघि बढाउने रहेको बताइन्छ । अमेरिकाले यो कार्यक्रममा हस्ताक्षर गर्न नेपाललाई दबाव दिंदै आएको छ । एसपीपीमार्फत अमेरिकाले नेपाली सेनासंग दीर्घकालिन सहाकार्य गर्न खोजिरहेको छ । एसपीपी इण्डो प्यासेफिक रणनीतिअन्र्तगत राखेकाले सेनाले त्यसमा हस्ताक्षर गर्न मानेको छैन ।

अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ ।

प्रधानसेनापतिको अमेरिका भ्रमण

प्रधानसेनापति शर्माको समेत यही असार १३ देखि १७ सम्म अमेरिकाको भ्रमण हुंदैछ । शर्माले अमेरिकी रक्षामन्त्रालयका उच्च अधिकारी र आफ्ना समकक्षीसंग भेटवार्ता गर्नुका साथै द्धिपक्षिय सैनिक सहयोगका विषयमा समेत छलफल गर्नेछन् ।

सेनाले उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको जनाएको छ ।

शर्माको भ्रमणका क्रममा सैनिक सहकार्य, संयुक्त सैन्य अभ्यास र स्टेट पार्टनरसिप प्रोगाम, एम १६ हतियार खरिदलगायतका विषय एजेण्डामा छन् ।

यस्ता छन् भ्रमणका एजेण्डा

प्रधानसेनापति शर्माको अमेरिका भ्रमणअघि अमेरिकी जनरलको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । बिहिवार नेपाल भ्रमणको क्रममा काठमाण्डौै पुग्न लागेका अमेरिकी जनरल फिलनलकै चाहनामा उनको भ्रमण भएको स्रोतको दावी छ । शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि अमेरिकाले एसपीपीमा सहमतिको प्रयास गरिरहेको छ । तर, सेनाले भने यसअघि त्यसमा चांसो नदिएपछी उक्त समझदारीपत्रमा हस्ताक्षर भने हुन सकेको थिएन ।

अहिलेको राजनीतिक नेतृत्वले यसलाई अघि बढाउन खोजेको स्रोतको दावी छ । तर, सैनिक नेतृत्वले यसमा के गर्छ भन्ने विषय अव हुने सेनापतिको भ्रमणपछी नै केही भन्न सकिनेछ ।

प्रधानसेनापति शर्माको भ्रमणको क्रममा सैन्य सहयोगको बारेमा समेत छलफल हुनेछ । नेपाली सेनालाई अमेरिकाले दिने भनेको १५ मिलियन डलरको सैन्य सहयोगलाई कार्यान्वयन गर्नेबारे छलफल हुनुका थप सहयोगको बारेमा समेत कुराकानी हुनेछ ।

अमेरिकाले नेपाली सेनालाई थप दुई वटा स्काई ट्रक र दुई वटा बेल हेलिकोप्टर अनुदानमा दिने सम्भावना रहेको सैनिक स्रोतको दावी छ । त्यसका साथै ६ हजार थान एम १६ हतियार खरिदबारे पनि दुई देशका सैनिक नेतृत्वको बीचमा कुराकानी हुनेछ ।

के हो एसपीपी ?

अमेरिकाले २०१५ देखि नै एसपीपीलाई अघि बढाउन खोजेको छ । तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीकै अग्रसरतामा त्यो अघि बढाउन खोजिएको सैनिक स्रोत बताउंछ । तर, त्यसपछिका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने उक्त प्रस्ताव अघि बढाउन कुनै चांसो नदिएको गुनासो छ । अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘इन्डो–प्यासिफिक रणनीति प्रतिवेदन–२०१९’ मा नेपाललाई इन्डो प्यासिफिक रणनीतिको नयाँ साझेदार मुलुकका रुपमा राखेपछी थापा त्यसबाट झस्किएका थिए ।

अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा भनिएको छ ‘नेपालसँग अमेरिका मानवीय सहायता, प्रकोप सहायता, पिसकिपिङ अपरेसन, रक्षा व्यवसायीकरण, स्थल फोर्सको क्षमता अभिवृद्धि र प्रतिआतंकवादका सन्दर्भमा रक्षा सम्बन्ध विस्तार गर्न चाहन्छ । ’

एसपीपीअन्र्तगत नेपाली सेना र अमेरिकी सेनाको युटाह नेशनल गार्डबीच नियमित भ्रमण आदान प्रदान र सैन्य अभ्यास गर्ने अमेरिकी प्रस्ताव छ । यसमा करिव १ सयभन्दा बढी देशका सेना जोडिएका छन् । अमेरिका सेनाको युटाहा नेशनल गार्डका एड्जुटेन्ट जनरल माइकल जे टर्लीले समेत दुई महिना अघि नेपाल भ्रमणमा आएका थिए । यसअघि नेपाल भ्रमणमा आएका तत्कालिन अमेरिकी सहायक रक्षामन्त्री र्याण्डल स्क्राइबरले तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापासंगको भेटमा पनि एसपीपी अघि बढाउन आग्रह गरेका थिए ।

स्क्राइबरले मात्र होईन अमेरिकाबाट हुने सैनिक र राजनैतिक नेतृत्व दुवैबाट एसपीपी अघि बढाउन सेनालाई चर्को दबाव रहेको सैनिक स्रोत बताउछ । तर,यसअघिको सैनिक नेतृत्व र सरकारले यो अघि बढाउन अनिच्छा देखाएपनि यसपटक हुने प्रधानमन्त्री र प्रधानसेनातिको भ्रमणले यसबारेमा टुंगो लगाउने सम्भावना समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array