काठमाडौं – भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया आईसीसी महिला ट्वान्टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलिया लगातार तेस्रोपटक महिला ट्वान्टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार राति १७३ रनको लक्ष्य पूरा गर्न ६ रनले चुकेपछि साविक उपविजेता समेत रहेको भारत प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरियो ।
भारतकी कप्तान हर्मनप्रित कौरले ५२ रन बनाइन् । जेमिमाह रोड्रिगेजले ४३, दीप्ति शर्माले २०, रीचा घोसले १४ र स्नेह रानाले ११ रनको योगदान गरे ।
अस्ट्रेलियाकी अस्लेघ गार्डनर र डार्सी ब्रोनले समान दुई विकेट लिए । मेगन सट र जेस जोनासनले एक/एक विकेट झारे ।
त्यसअघि, अस्ट्रेलियाकी बेथ मुनीले ५४ रन बनाएकी थिइन् । कप्तान मेग लानिङले अविजित ४९, अस्लेघ गार्डनरले ३१ र ओपनर एलिसा हेलीले २५ रन जोडे ।
भारतकी शिखा पान्डेले दुई विकेट लिइन् । दीप्ति शर्मा र राधा यादवले एक/एक विकेट लिए ।
अस्ट्रेलियाले विश्वकपका पछिल्ला ६ संस्करणमध्ये पाँचको उपाधि जितेको छ । अस्ट्रेलियाले अब उपाधिका लागि दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको सेमिफाइनल आज साँझ नेपाली समयानुसार ६ः४५ बजे सुरु हुनेछ । विश्वकपको फाइनल खेल यही फागुन १४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस्