बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेका आरोपी सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका लामिछानेले विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न पाउनुपर्ने माग गर्दै पुनरावेदन गरेका हुन् ।
यस अघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा ससर्त छोडिदियो । जस अनुसार लामिछाने नेपाल छोडेर विदेश जान सक्नेछैनन्। यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।
अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ । पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।
नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतको आदेशका कारण लामिछाने उक्त भ्रमणको सदस्य रहनेछैनन् ।


प्रतिक्रिया दिनुहोस्