प्रतिनिधिसभाको पहिलो बैठक भोली दिउँसो १ बजे बस्ने, पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक भोली सोमबार २५ गते दिउँसो १ बजे बस्ने भएको छ । पद तथा गोपनीयताको शपथ ग्रहणपछि पहिलो अधिवेशनको पहिलो बैठक सोमबार संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
भोली नै बैठकको अन्तिममा तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित गर्ने तालिका रहेको छ । २०४८ सालमा गोरखा २ बाट निर्वाचित मैयाँदेवी श्रेष्ठ, ुमाओवादीबाट २०६४ सालमा ओखलढुंगा २ बाट निर्वाचित बालकृष्ण ढुंगेल र २०७० सालको संविधानसभा चुनावमा कांग्रेसको समानुपातिक तर्फबाट सांसद बनेका झुलबहादुर आलेको निधनप्रति सदनले शोक प्रस्ताव गर्ने छ ।

बैठकको सुरुवात भने जेष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविधेशन आह्वान गरेको पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
त्यसपछि राष्ट्रपति कार्यालयले संसदलाई जानकारी गराएको प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिरिषद गठन सम्बन्धी पत्रहरुको व्यहोरा वाचन गरेर संसदमा सुनाउने छन्। अनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते नियुक्त भएको व्यहोरा पनि सुनाउने छन् ।

संसदको सम्भावित कार्यसूची अनुसार प्रतिनिधिसभाले अर्को नियमावली नबनाएसम्म संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभा नियमावली २०७५ स्वीकृतिका लागि प्रस्तुत हुनेछ । भोलि नै संसदले बैठकको अध्यक्षता गर्ने व्यक्तिहरुको नाम अनुमोदन हुनेछ । प्रत्येक अधिवेशनमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने व्यक्तिका लागि अध्यक्ष मण्डलको मनोनयन गर्ने अभ्यास अनुसार सोमबार पनि त्यस्ता सदस्यहरु मनोनीत हुनेछन्।
सोमबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले धारणा राख्नेछन्। यसमा प्रधानमन्त्री दाहालदेखि ठूलो दलका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनले धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array