निर्मला हत्या प्रकरण: डीएनए परीक्षणका लागि दुई भारतीयको नमुना संकलन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद दुईजनाको रगतको नमुना संकलन गरेको छ ।

प्रहरीले डीएनए परीक्षणका लागि उनीहरूको रगत संकलन गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिए/नलिएको बताइएको छैन ।

- Advertisement -
Ad imageAd image

स्रोतका अनुसार रगत संकलन गरिएका दुवैजना भारतीय नागरिक हुन् । उनीहरू मुस्लिम समुदायको भएको बताइएको छ ।

तर, कञ्चनपुर प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले नमुना संकलन गरिएको बारे आफूहरूलाई जानकारी नभएको बताए ।

उनले भने, “सीआईबीबाट अनुसन्धान भइरहेको छ । हामीले आवश्यक सहयोग मात्रै गर्ने हो । उतैबाट जानकारी लिनुहोला ।”

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनाएको छ ।

सीआईबीकै टोलीले घटनाको अनुसन्धान गर्दै आएको छ । सीआईबीका अधिकारीहरूले पनि दुईजनाको नमुना संकलन गरिएको बारे बताउन चाहेनन् ।

संकलन गरिएको नमुना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ । अझै हत्याराको पहिचान हुन सकेको छैन ।

प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर, साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दूरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

प्रहरीले हालसम्म निर्मला प्रकरणमा ७०० जनासँग बयान तथा सोधपुछ गरेको छ । त्यसमध्ये १५० भन्दा बढी महिला छन् । १३५ जनाको डीएनए परीक्षण गरेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, कसैको पनि डीएनए ‘म्याच’ भएको छैन ।

प्रहरीले डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ । घटनाको जिल्ला प्रहरी, सीआईबी र प्रदेश प्रहरीको टोलीले अनुुसन्धान गर्दै आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्