सावधानी पुर्‍याउन नसक्दा सत्ता गुम्यो : गगन-विश्वप्रकाश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको स्वीकार गरेका छन्।

शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पछि परेको स्वीकार गरेका हुन्।

- Advertisement -
Ad imageAd image

उनीहरूले भनेका छन्, ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ। हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचा बन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन। नेपाली काँग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछ, जनताप्रति जबाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्नेछ। राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ।’

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल भएर पनि काँग्रेस प्रतिपक्ष बन्न पुगेको उल्लेख गर्दै पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वभाविक भएको बताएका छन्।

‘यस क्षणमा हाम्रा दुई वटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने। दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने। नेपाली काँग्रेसले गम्भीर आत्म समीक्षा र पुनर्मुल्याङ्कन गर्दै सुविचारित ढङ्गबाट अबको बाटो तय गर्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्