प्रधानमन्त्री आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न पोखरा जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै छन। आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि जाने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

- Advertisement -
Ad image

यस्ता छन् कार्यक्रम 

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट यात्रुसहित उडेको पहिलो विमान ७:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ ।

र्‍यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात दिउँसो २ बजेदेखि ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ बजेदेखि ५:५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३  वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्