नेप्सेमा करिब ४ महिनायताकै उच्च वृद्धि, कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिनको करिब ५ महिना यताकै उच्च कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ विन्दुमा पुगेको छ। यो भदौ १४ गते यताकै उच्च विन्दु हो। भदौ १४ गते नेप्से परिसूचक १९९५.३४ विन्दुमा रहेको थियो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेको छ।

- Advertisement -
Ad image

यस दिन २६१ स्टकको ६३ हजार ६७ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम गत साउन १८ गते यताकै उच्च हो। सो दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन २६१ स्टकमध्ये २० स्टकको मात्र मूल्य घटेको छ। यद्यपि, शेयरमूल्य गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकमको १४ करोडभन्दा बढकिो शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी, नबिल बैंक र एनआईसी एशिया बैंकको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्