काठमाडौं – नेपाल भेटनेरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ। हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए।
पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ। सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ। हरेक स्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट पुरस्कृत गरिने छ।
नेपाल एथलेटिक्स संघले मान्यता दिएको दौडलाई नेपाल दाना उद्योग संघ र अन्तर्गतका दाना उद्योगले सहयोग गर्ने भएका छन्। दौडको अस्पताल पार्टनरमा प्रिमेरा अस्पताल, टिकेटिङ पार्टनरमा इ सेवा, साउन्ड सिस्टम पार्टनरमा आईएसएस प्रालि र हस्पिटिलिटी पार्टनरमा मेरियोट काठमाडौं रहेका छन्। युए सोइ दौडको प्रवर्द्धक रहेको छ।
आमजनमानसमा सन्तुलित आहार बारे जनचेतना जगाउने मुख्य उद्देश्यले दौड आयोजना गर्न लागिएको हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै पुगेर टुंगिने छ।


प्रतिक्रिया दिनुहोस्