विश्वकप २०२२ मा साबिक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ ।
निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकप उपाधि जित्यो ।
निर्धारित समयमा खेलको पहिलो हापको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले गोल गरे ।
डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । पहिलो हापमा २-० ले अर्जेन्टिनाले अग्रता कायम गर्यो ।
दोस्रो हापको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए ।
ओटा मेन्डि रान्डालले कोलोमुआनीलाई डी-बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
त्यसको एक मिनेट नबित्दै ८२औ मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काएका थिए । मार्को थुरामले असिस्ट गरेका थिए ।
निर्धिरित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो ।
खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए । तर, अर्जेन्टिनाले अग्रता कायम राख्न सकेन । ११८औं मिनेटमा पाएको पेनाल्टी मार्फत गर्दै गोलगर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गर्दै खेललाई ३-३ को स्थितिमा ल्याएका थिए ।
अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
फ्रान्सका लागि पहिलो पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरेपनि ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए । अर्जेन्टिनाका मेसी, पाउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलले गोल गर्दै उत्कृष्ट जित दिलाए ।


प्रतिक्रिया दिनुहोस्