कामकाजमा असहयोग गरेको भन्दै उपसचिवसहित १० कर्मचारी मन्त्रालय फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चिकित्सा शिक्षा आयोगले कामकाजमा असहयोग गरेको आरोपमा ५ उपसचिवसहित १० कर्मचारीलाई मन्त्रालय फिर्ता पठाएको छ । शिक्षा मन्त्रालयले खटाएका ७ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ कर्मचारीको काज आयोगले फिर्ता गरेको हो ।

गत भदौ २० मा शिक्षा मन्त्रालयले सदस्यसचिवको सरुवा गरेपछि आयोग र मन्त्रालयबीच द्वन्द्व सुरु भएको थियो । त्यही द्वन्द्व जारी रहँदा आयोगले १० जना कर्मचारी फिर्ता पठाएको हो । फिर्ता पठाएका कर्मचारी मन्त्रालयमा हाजिर हुन थालेको शिक्षा मन्त्रालयले जनाएको छ । कर्मचारीका कारण आयोगको कामकाज प्रभावित हुन थालेपछि फिर्ता पठाइएको स्रोतको भनाई छ ।

- Advertisement -
Ad image

मन्त्रालय र आयोगबीच सदस्यसचिवको सरुवाका विषयमा विवाद चलिरहँदा केही कर्मचारीले असहयोग गरेको पदाधिकारीहरूको भनाइ छ ।

उक्त आरोपमा उपसचिव सीताराम कोइराला, रेवतीप्रसाद पराजुली, सेमन्तराज कोइराला, दुर्गा कँडेल, जमुना चुदाली, अधिकृतहरू हरिकला आचार्य, गोपालनारायण श्रेष्ठ, जानुका गुरागाईँ, नायब सुब्बा लिलमान भण्डारी, खरिदार कृष्ण पौडेललाई मन्त्रालय फिर्ता पठाइएको हो ।

आयोगको आफ्नै कर्मचारी नहुँदा शिक्षा, स्वास्थ्य, सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी खटनपटन हुँदै आएको छ । आयोगले आफ्नै कर्मचारी राख्न सक्ने ऐनमा व्यवस्था भए पनि दरबन्दी प्रक्षेपणको कामसमेत हुन सकेको छैन । दरबन्दी स्वीकृतसम्बन्धी फाइल अर्थ मन्त्रालयमा विचाराधीन रहेको सदस्यसचिव काफ्लेले बताए । उनको ९ महिनामा सदस्यसचिवबाट सरुवा भए पनि विवाद पछि रोकिएको हो । २०७५ फागुनमा आयोग स्थापना भएयता ५ जना सदस्यसचिव फेरिइसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्