माया खोला हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ – मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड मूल्यबराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल १० लाख कित्ता सेयर छुट्ट्याएको छ ।

यस्तै, सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर–८ र ९, धर्मदेवी नगरपालिका–३, ४ र ५ तथा मादी नगरपालिका–४ र ६ का बासिन्दाका लागि छुट्ट्याएको छ ।

यस्तै, आयोजना अतिप्रभावित क्षेत्रबाहेक संखुवासभाको अरू क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आउँदो पुस ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाहरूले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइनबाट दिन सकिने 
कम्पनीले निष्कासन गरेको सेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत सेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै, वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत र मेरोसेयरबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकाको मायाखोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array