काठमाडौँ – नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ ।
यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।
यसैबीच किरात समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाइरहेका छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइने चलन छ
प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किरात राईको बसोबास रहेको पूर्वी पहाडि जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ ।
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्क्याउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किरात समुदायका मानिस विभिन्न सोकवा साकेन्वा नाचेर यो पर्व मनाउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्