मौन अवधिमा सरकारी स्रोत साधनको दुरूपयोग गरी एमाले नेता शंखर पोखरेलको पक्षमा मत माग्न प्रयोग गरिएको आरोपसहित घोराही-१७ का स्थानीयले घोराही उपमहानगर पालिकाका प्रमुख नरुलाल चौधरी चढ्ने गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
स्थानीयले घोराही उपमहानगर पालिकाका मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काएर गाडी रोकेका थिए।
दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको र उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले गोरक्षपोस्टलाई बताए।
ओलीले भने, ‘बिहान स्थानीयले मेयर चढ्ने गाडी नियन्त्रणमा लिएर हावा खुस्काइ दिएको खबरपछि प्रहरी पुगेर गाडी लिएर आएको हो।’
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का प्रतिस्पर्धामा छन्। थारु वस्तीमा निर्वाचन प्रभावित पार्न उनको गाडी प्रयोग भएको आरोप स्थानीयवासीले लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्