निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो: प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् ।

उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् ।

- Advertisement -
Ad image

उनले सन्देशमा भनेका छन्, “निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जहानियाा राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको चरण पूरा गरिसकेको छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेछ ।”

कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उनले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताएका छन् । वि.सं. २०४६ पछि मुलुकले आर्थिक र  सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन् ।

“हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दै छन् । उनीहरूको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढ्नेछौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त–दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ,” प्रधानमन्त्री देउवाले भनेका छन् ।

सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको समुदाय र क्षेत्रको उत्थानमा कांग्रेसको सरकारले धेरै महत्त्वपूर्ण काम गरेको बताउँदै उनले यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने उल्लेख गरेका छन् । निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उनको भनाइ छ ।

उनले दुईपटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन आफूहरू दृढ रहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाले यही मंसिर ४ गते निर्वाचनमा उत्साहपूर्वक सहभागी भई प्रत्यक्षतर्फ कांग्रेस नेतृत्वको गठबन्धनका उमेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ कांग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।

उनले आफूहरू कुरा होइन, काम गर्छौँ भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रूपमा लिन सबैलाई हार्दिक अपिल गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्