काठमाडौँ – विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र सङ्काय डिनको कार्यालयले १९ माघ ०७७ मा सूचना प्रकाशित गरी लिएको परीक्षामा हिनामिना गर्ने अंग्रेजी संकायका विज्ञ सहप्राध्यापक विनयकुमार दास र परीक्षा समितिका संयोजक सहायक डिन कमलेस डिसीविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो।
प्रश्नपत्रको गोपनियता भंग तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। सहप्राध्यापक दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटक-पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे–गराएको देखिएको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर उम्मेदवारको पहिचान गरी प्राप्ताङ्कको आधारमा अन्तर्वार्तामा अङ्क प्रदान गर्न पहिले दिएको अङ्क केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको तथा उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको अख्तियारको आरोप छ।
सहायक डिन डिसीले अंग्रेजी विषयको परीक्षण बोर्डको तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक-पटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तर्वार्तामा छनौट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताको क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अङ्कसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिमाण फेरबदल गर्न संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्