काठमाडौँ – राष्ट्रिय राजमार्गहरु विस्तारमा अतिक्रमणले समस्या भएपछि सडक विभागले त्यस्ता संरचना हटाउन तथा जग्गा खाली गर्न निर्देशन दिएको छ।
सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै राष्ट्रिय राजमार्गका अतिक्रमण संरचना हटाउन र जग्गा खाली गर्न सरोकारवालालाई निर्देशन दिएको हो।
सडक डिभिजन भरतपुरअन्तर्गत पूर्वपश्चिम राजमार्गको लोथरदेखि गोन्द्राङ-पुल्चोकसम्म र मुग्लिन-नारायणघाट सडकखण्डमा राष्ट्रिय राजमार्गको सडक सीमा पर्ने सबै संरचना हटाउनु पर्ने छ। यसैगरी सडककेन्द्र रेखाबाट २५ मिटर दायाँ र २५ मिटर बायाँ तथा भवन सीमासहित ३१ मिटर दायाँ र ३१ मिटर बायाँभित्र सडक विस्तारको लागि भवन तथा जग्गा खाली गर्न लागिएको डिभिजनले जनाएको छ।
उक्त सडक सीमाभित्र घरटहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी सडक तथा सडक किनारको नालामा मिसाउने, कुनै प्रकारको स्वीकृति बिना बनेका संरचना हटाउन निर्देशन दिइएको हो। यस्ता प्रकृतिका अन्य यातायात सञ्चालन एवम् सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन २०३१ ले निषेध गरेको छ।
पटकपटक विभिन्न सञ्चारका माध्यमहरू, माइकिङ, पम्पलेटमार्फत सूचना जारी गरिएता पनि हालसम्म राष्ट्रिय राजमार्गका केही स्थानहरूमा सडक सीमाभित्र अवरोधहरू पाइएकोले यो निर्देशन दिइएको डिभिजको भनाइ छ। यो सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त अवरोध हटाउनु पर्नेछ।
उल्लेखित समयावधिमा सडक सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन कार्यालयले हटाई भत्काउन लाग्ने खर्चसमेत सम्बन्धित निर्माणकर्ताबाट असुल गरिने डिभिजनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्