काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा केपी ओलीले मात्रै जारी नगरेको बताएका छन्।
दार्चुलामा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नक्सा साझा सहमतिमा जारी गरे पनि ओलीले मात्रै जस लिन खोजेको बताए।
उनले एमाले अध्यक्ष ओलीले भ्रम छर्दै हिँडेको आरोप लगाए। ‘ओलीजी दार्चुलामा आएर भाषण गर्दैमा केही हुनेवाला छैन,’ देउवाले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी कहाँ छ भन्ने कुरा सबैलाई थाहा छ, यस विषयमा सम्पूर्ण नेपाल एक छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गरेका छन्।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले होइन, नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ। कोही भ्रममा नपर्नुहोला। मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो। केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन्।’
नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्