राजनीतिक दल तथा उम्मेदवारले आजदेखि जुलुस र आमसभा गर्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आज (बिहीबार) देखि खुला प्रचार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बिहीबार (कात्तिक १७ गते) देखि मंसिर १ गतेसम्म प्रचार प्रसारका लागि समयावधि तोकेको छ।

खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुनेछन्।

- Advertisement -
Ad imageAd image

गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृहप्रदेश सुदूरपश्चिम पुगिसकेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा सहितको सत्ता गठबन्धनले संयुक्त चुनावी सभाको समेत तयारी गरेको छ। अहिले शीर्ष नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने र कात्तिकको अन्तिम साता संयुक्त चुनावी कार्यक्रम हुने नेताहरुले जनाएका छन्।

गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ सहित पार्टीका प्रचार कार्यक्रममा सहभागी हुने सेड्यूल छ।

यस्तै, विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि देश दौडाहामा निस्किनेछन्। ओलीले शुक्रबार सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ।

ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टरको प्रयोग गर्नेछन्। एमालेले हेलिकोप्टरको प्रयोगका लागि निर्वाचन आयोगसँग अनुमति समेत लिइसकेको जनाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्