काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउँदले चुनाव जितेर जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका छन्।
कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जितेर पनि जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका हुन्। नेता साउदले आफूले चुनाव जितिसकेपछि क्षेत्र नम्बर २ का जनताले विकासको चिन्ता गर्नु नै नपर्नेसमेत जिकिर गरे।
‘तपाईंहरुले एकचोटी जिताइसकेपछि विकासका बारेमा थप चिन्ता, फरक चिन्ता लिनुपर्ने छैन। तपाईहरुले तपाईंको चिन्ता मलाई सुम्पिनुभो,’ उनले भने, ‘त्यसपछि मैले आफ्नो कर्तव्य पूरा गर्न सकेन भने मलाई आगामी ५ वर्षपछि जे निर्णय गर्नुहोला त्यो मलाई स्वीकार हुनेछ।’
‘आगामी ५ वर्षसम्म हामी एउटा स्थिर सरकार दिनेछौं। गठबन्धनभित्र एउटा प्रधानमन्त्री परिवर्तन हुन सक्छ,’ साउदले भने, ‘तर सहभागी दलहरु त्यही रहने छन्। हाम्रो गठबन्धन टुट्ने छैन। हामी गठबन्धनलाई नै अगाडि बढाएर लैजाने छौं।’


प्रतिक्रिया दिनुहोस्