नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुइ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख छ।
यस्तै काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने, अधिकार सम्पन्न राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल एक्रिडेशन अथोरिटी) बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख छ।
यसैगरी एमलेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परिक्षण तथा औषधि उपलब्ध गराउने, कडा असाध्य रोगहरूको उपचार निःशुल्क गर्ने, महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि बार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने पनि उल्लेख गरेको छ।
घोषणपत्रमा ‘हाम्रो नेपाल: निरोगी नेपाल ‘निरोगी नेपाल’ नेकपा (एमाले) को मुख्य स्वास्थ्य नीति भएको उल्लेख छ। यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिने उसले जनाएको छ। स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने, स्वच्छ विचार, सकारात्मक चिन्तन, स्वस्थ खाना, नियमित व्यायामलगायतका स्वास्थ्य शिक्षाका विषयहरूमा आम नेपालीलाई प्रशिक्षित गर्न नागरिक स्वास्थ्य जागरण कार्यक्रम सञ्चालन गरिने, ‘भान्सा नै औषधालय हो, भान्सालाई विषमुक्त गरौं अभियान सञ्चालन गरी आहार व्यवहारमा जनसचेतना विकास गरिने एमाललेले घोषणपत्रमा उल्लेख गरेको छ। यस्तै सबै नागरिकलाई मुलुकभित्रै प्राथमिकदेखि अति जटिल र विशिष्टीकृत सम्पूर्ण स्वास्थ्य उपचार सेवाको ग्यारेन्टी गरिने. सबै नेपालीलाई उच्च गुणस्तरको उपचार सेवा नजिकबाट तत्कालै उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने एमालेले घोषणपत्रमा जनाएको छ।


प्रतिक्रिया दिनुहोस्