प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा १५१ भन्दा धेरैको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक ट्विट गर्दै प्रधानमन्त्री देउवाले सोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार‚ त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन् । यसका साथै भागदौडमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।
दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका रमाइलो गर्न एक लाखभन्दा बढी युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने ८२ भन्दा धेरै घाइते भएका छन् ।
मानिस जम्मा भएको साँघुरो ठाउँमा च्यापिएर चीन, उज्वेकिस्तान, इरान र नर्वेका १९ जना सहित १ सय ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५४ जना पुरुष र ९७ जना महिला रहेका छन् । शनिबार राति भएको दुर्घटनामा ४५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अधिकांश मृतक ३० वर्षभन्दा कम उमेरका रहेको कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा ८२ जना सख्त घाइते भएको र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
‘
प्रतिक्रिया दिनुहोस्