काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिसकिएको छ ।निर्वाचन आयोगका अनुसार तिहार अघि थप ६ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिने निर्वाचन आयोगले बताएको छ।
हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। यसमध्ये प्रदेशसभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेको बताएको छ ।
हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुमपूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया, नवलपरासी पश्चिमलगायत जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ रातो मसीको छ।


प्रतिक्रिया दिनुहोस्