काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच चुनावी तालमेलका लागि भएको वार्तामा अझै सहमति जुटेको छैन । छलफलको क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभाका २५ मा आफूले सिट पाउनु पर्ने प्रस्ताव राखेपछि सहमति जुट्न नसकेको बताइएको छ । त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेपछि सहमति पत्रमा हस्ताक्षर हुन नसकेको बुझिएको छ ।
यद्यपि बिहीबार साँझ नेकपा एमालेका शीर्ष नेता र जसपाका अध्यक्ष यादवबीच भएको छलफलमा चुनावी तालमेलका लागि दुवै पक्ष सकारात्मक भएको नेताहरुको भनाइ छ ।
प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा जसपाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवैसँग चुनावी तालमेलका लागि दोहोरो संवाद सुरु गरेको थियो । सत्ता गठबन्धनमा १६ सिट पाएको जसपाले त्यसमा चित्त नबुझाएपछि एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको हो ।
बिहीबार एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलबारे लामो छलफल भएको थियो । एमाले नेता रघुवीर महासेठको नीजि निवास भैंसेपाटीमा बैठक बसेको थियो ।
एमाले र जसपाको ४ सिटमा कुरा नमिल्दा अझै सहमति भएन

प्रतिक्रिया दिनुहोस्