काठमाडौँ – धनुषा प्रहरीले थुनुवालाई यातना दिएको आरोप लागेको छ । अभद्र व्यवहारको मुद्दामा पक्राउ परेका मुखियापट्टी मुसहरनिया गाँउपालिकाका-१ का १८ वर्षीय धीरज यादवलाई यातना दिएको आरोप लागेको हो ।
यादवलाई थुनुवा कक्षमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएका हुन् । उनलाई अहिले प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । भदौ १२ गते मेलामा नाच हेर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । सोही आरोपमा धीरज थुनामा थिए ।
धीरजलाई बिहीबार राति करिब ९ बजे प्रहरीले हात तल र खुट्टा माथि गर्न लगाएर चरम यातना दिएको परिवारजनको आरोप छ । सो घटनामा रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई पनि पक्राउ गरिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले थुनुवा कक्षभित्र धीरजलाई प्रहरीले कुटपिट गरेको अस्वीकार गरे । उनले थुनुवा कक्षभित्र सीसीटीभीसमेत जडान भएकोले प्रहरीमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्